८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला भलिबल टोली सम्मानित   



२१ माघ ०७८, काठमाडौं । सरकारले बङ्गबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् । उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको हो । कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए ।

“यहाँहरूले भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो, त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीले भलिबललगायतका अन्य खेलकुद गतिविधिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, प्रधानमन्त्री देउवाले भने ।

विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि सो अवसरमा बधाई दिए । फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहनुभएका प्रशिक्षक अब्दुलाह अल्मुताइरीलाई पनि उहाँले धन्यवाद दिए ।  “आगामी दिनमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु”, उनले भने ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको उल्लेख गर्दै नेपाललाई विश्व समुदायको जनस्तरसँग जोड्न खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा सम्बोधन गर्न प्रधानमन्त्री देउवासमक्ष अनुरोध समेत गरे ।

कार्यक्रममा महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले खेलकुदको पूर्वाधारको विकास तथा खेलाडी सेवा सुविधा वृद्धि गर्न सरकारसँग आग्रह गरिन । उनले खेलका दौरान घाइते हुनुभएकी भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन सरकारलाई आग्रह गरिन ।

सरकारले विश्व ब्याडमिन्टनको वरियातामा शीर्ष स्थानमा रहन सफल प्रिन्स दाहाल र साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरेको छ । सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको छ । त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी अनुपस्थित रहेका कारण उहाँलाई आज सम्मान गरेको हो ।

सरकारले एशियन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही रु पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गरेको छ । सम्मानित हुने खेलाडीमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु हुन् । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी  हुन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : २९ बजे