१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पहिलेको मसानघाट, अहिले रमणीय पार्क (तस्विरहरु)



मोहम्मद हबिब

२२ माघ ०७८, भैरहवा । रुपन्देहीको सुद्धोधन गाउँपालिका ५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ । केही समयअघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिइ कोही हिड्दैनन् थिए । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ ।

स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर अहिले हेर्नलायक पर्यटकीय स्थल बनेको छ । सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएसँगै सुद्धोधनमा अहिले पर्यटकीय गन्तव्य थपिन थालेका छन् । अहिले दैनिक रुपमा सयको हाराहारीमा टिकट काटेरै पार्कभित्र जाने गरेको पार्क प्रशासनले जनाएको छ । गत मंसिर महिनादेखि सुरु भएको पार्क निर्माण पूरा भइ अहिले सयौं पर्यटक आउन थालिसकेका छन् ।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने भन्दै स्थानीय सरकारको पहलमा ०७५ सालमा जग्गा संरक्षण सुरु भएको हो । सुखली घोला बगरमा रहेको मसानघाट अन्यत्र सारेर जग्गा संरक्षण गर्ने अठोट गरेको सुद्धोधन गाउँपािलकाले जनाएको छ । केही समय विवाद भए पनि गाँउपालिकाले मसानघाटलाई घोला नजिकै व्यवस्थित रुपमा स्थानान्तरण गरेपछि स्थानीय पनि सहमत भएका हुन् ।

जग्गा संरक्षण गरी पहिलो वर्ष २०७६÷७७ मा तारबार गरियो । गाउँपालिकाले सुरुवाती चरणमा २० लाख खर्चेर पार्क बनाउने अवधारणा अघि सार्यो । गाउँ पर्यटन कार्यालयले पनि ३० लाख बजेट विनियोजन गर्यो । गाँउपालिकाले यही वर्ष पुनः ५८ लाख ५६ हजार पार्कमा लगानी गर्यो । दोस्रो वर्ष २०७७÷७८ पर्यटन कार्यालयले २५ लाख बजेट विनियोजन गरी पार्कको सौन्दर्यीकरणमा थप ईट्टा थप्ने काम गर्यो । प्रदेश सरकारको समपुरक र गाउँपालिकाले पनि त्यसमा थप ३५ लाख ११ हजार लगानी गरेर शौचालय, फुटपाथ, माटो पटान, फुलबारीलगायत पूर्वाधार निर्माण गर्यो । पार्कको मुहार वर्षेनी फेरिदै गयो । चालु आर्थिक वर्षमा पनि गाँउपालिकाले ४३ लाख लगानी गरेको छ । अहिले पार्क रुपन्देही कै नमूना बनेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले पर्यटन क्षेत्रको विकास होस् भन्ने उदेश्यले दुई करोडभन्दा बढी लगानीमा पर्यटकीय स्थल बनाउन लागेको बताए । पार्कमा बुद्धको मुर्ति, विभिन्न जनावरको फाइबरका आकृति, वाटर फाउन्टेन फुलबारी, पाम ट्रि, शौचालय, बालबालिकाले खेल्ने सामग्री राखिएको छ । यसै आर्थिक वर्षमा सबै निर्माण सम्पन्न हुने उनले बताए ।

एक बिघा ६ कठ्ठा क्षेत्रफल रहेको पार्क सञ्चालन गर्न समिति नै बनेको छ । समितिले २४सै घण्टा रेखदेख गर्नेगरी संयन्त्र बनाएको छ । लुम्बिनी नजिकै रहेकाले पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोग भएको हो । घोलाको पारी ऐतिहासिक मन्दिर पनि छ, त्यसलाई जोड्न घोलामा ढुङा चलाउन सुरुवात गरिएको छ । यसलाई थप विकसित गर्दै लैजाने पालिकाको योजना रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

अहिले दर्वाह टोल विकास समितिले पार्क व्यवस्थापन गरेको छ । १ मंसिरदेखि सञ्चालनमा आएको पार्क प्रवेशका लागि २० रुपैयाँ टिकट तोकिएको छ । अहिले जिल्लाबाट मात्र होइन बाहिरी जिल्लाबाट पनि पर्यटक आउने गरेको समितिका सचिव जीवलाल पौडेलले बताए । रुपन्देहीमा १६ वटा पालिका छन् । न्युज कारखाना

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।