८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


फिलिपिन्सविरुद्ध नेपालको शानदार जित



७ फागुन ०७८, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको हो ।

जितसँगै समूह एमा रहेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । दुई खेलबाट चार अंक जोडेको समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रनमा समेटियो ।

फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११ र कपिल कुमारले ४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले शतक प्रहार गरे । कुशलको टी–ट्वान्टी क्रिकेटमा यो पहिलो शतक हो । उनले ६१ बलमा १३ चौका र एक छक्का हान्दै अविजित १ सय ४ रन बनाए ।

दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीमा सर्वाधिक १ सय ७१ रनको साझेदारी समेत गरे ।

कुशल मल्लले १२, लोकेश बमले अविजित ६ रन बनाए । फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।

नेपालले तेस्रो खेल आगामी सोमबार क्यानाडासँग खेल्ने तालिका रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ५६ बजे