८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरमा महिला उद्यमी मेला हुँदै, उद्यमशीलतालाई प्रवद्र्न गर्ने लक्ष्य




२५ फागुन ०७८, ललितपुर ।  ललितपुरमा महिला उद्यमी मेला हुने भएको छ ।‘महिला सशक्तीकरणको आधार,उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरको पाटनस्थित नागवाहाल र इलाननीमा मेला आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा यही फागुन २७ बाट सुरु हुने मेला २९ गतेसम्म चल्नेछ ।

शुक्रबार दिउँसो १ बजे बाग्मती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उद्यमी महिला मेलाको उद्घाटन गर्नेछन् । मेलाको विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले महिला सशक्तीकरणको आधार,उद्यमशीलता र रोजगार भन्ने मूल नाराका साथ महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने, विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभालाई पहिचान गर्दै थप प्रतिभा प्रष्फुटन गराउने र संस्कृति उत्थान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिए ।
मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला,गरगहना,कपडा,धातुका मुर्तिहरु,दैनिक प्रयोगका सामग्रीहरु,खाद्य सामग्री,लत्ता कपडा र सज्जावटका सामग्रीहरु गरी नागवाहालमा ५१ वटा स्टल रहनेछन् ।
साथै हस्तकलाका सामग्रीको सहुलियत दरमा विक्री वितरण गर्ने स्टलहरु पनि रहनेछन् । हरेक दिन बिहान १० बजेदेखि बेलुकी ७स्३० सम्म मेला चल्ने आयोजकले बताएको छ ।
मेलामा नेपाल हस्तकला महासंघद्वारा हस्तकला,प्याभीलोन,ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लामा उत्पादित सामग्रीको प्रवर्धन गर्न अघि सारेको मेड इन ललितपुरको अवधारणा अनुरुप मेड इन ललितपुर प्याभिलोन रहनेछ । यस्तैगरी मेलामा हस्तकलाजन्य सामग्री उत्पादनको जीवन्त प्रदर्शनी पनि देखाईनेछ ।

विश्वप्रसिद्ध हिरण्यवर्ण महाविहार्व परिसर इलाननीमा नेवास्खाजाका विभिन्न स्टलहरु रहनेछन् ।मेलाबाट नेवारी खाजाको ब्राण्डिङमा सहयोग पुर्याउने आयोजकको विश्वास रहेको छ । तीन दिने मेलाको हरेक दिन सांगीतिक क्षेत्र,ख्यातिप्राप्त कुटुम्ब ब्याण्ड र प्रोजेक्ट बाजाको विशेष सांगीतिक प्रस्तुति गरिनेछ ।

हस्तकला महासंघका उपाध्यक्ष रविन शाक्यले यस्तो मौलिक र महत्त्वपूर्ण मेलामा सहभागी हुन पाउनु महासंघका लागि गौरवको विषय भएको बताए । यद्यपि विश्वको पैँतिसौ हस्तकला नगरीको रुपमा पाटनलाई घोषणा गरिएको ३ वर्ष भईसक्दा पनि ललितपुर महानगरपालिका र राज्यका निकायले यसमा चासो नदिएको उनको गुनासो छ । नगरप्रमुख चिरीबाबु महर्जनले समेत मेला तथा स्थानीय संस्कृति प्रवर्धनमा उदासिन भएको उनले आरोप लगाए ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ०७ बजे