१ चैत ०७८, पोखरा । पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउनले भएको छ । १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएको हो ।
सुर्योदय र सुर्यास्तको अवलोकन गर्न सकिने गरी सञ्चालनको तयारी थालिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । ‘सराङकोटको विशेषता भनेकै सुर्योदय हो । धेरै पर्यटकहरु सनराईज हेर्न बिहानै सराङकोट पुग्छन्,’ पौड्यालले भने, ‘पर्यटककै आग्रहमा हामीले सेवा बिस्तार गरेका हौं ।’
सेदीदेखि केवलकारमा चढेर १० मिनेटमा सराङकोट पुगिन्छ । प्रति गण्डोला ८ जना यात्रु बस्न मिल्ने गरी १७ गण्डोला जोडिएको छ । परियोजना २ अर्ब लागतमा निर्माण भएको हो । सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिएपनि कोभिड– १९ का कारण निर्माण समय र लगानी बढेको हो ।
केवलकार चढ्ने यात्रुले नेपाली भए ७ सय, सार्क राष्ट्रका पर्यटकले ८ सय र न्य मुलुकका नागरिकले ९ अमेरिकी डलर भाडा तिर्नुपर्छ । जेष्ठ नागरिक र अपांगता भएकाले ५० प्रतिशत र विद्यार्थीले २५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ । न्युज कारखाना
प्रतिक्रिया