८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चुनावी सरगर्मीः प्रचण्ड पोखरातिर, ओली इलामतिर



६ चैत ०७८, काठमाडौं । स्थानीय निर्वाचन घोषणापछि नेताहरु देश दौडाहामा छन् । दुई तिहाई नजिक रहेको नेकपा फुटेपछि माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच देश दौडाहाको प्रतिश्वर्धा छ ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा जाँदैछन् । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् ।
प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’
सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ । यसबाहेक २ वटा विधेयक संसद्मा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू जाँदैछन् ।
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् ।

एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो ।
खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भने,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’
पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पु¥याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।
नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।
फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ४७ बजे