६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पाटनमा बैशाख १ देखि अर्गानिक कृषि मेला हुने



१० चैत्र ०७८, ललितपुर । ललितपुरको पाटन दरबार संग्राहलयमा चार दिने पाँचौ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्गानिक कृषि मेला अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंगा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल बैशाख १ गतेदेखि ४ गतेसम्म हुने जानकारी दिइएको हो ।

जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुनुपर्ने जनाईएको छ । जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने मेलाको उद्देश्य रहेको छ ।

चार दिनसम्म चल्ने मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ। त्यस्तै, स्टल विक्रिबाट उठ्ने रकमबाट मेला सञ्चालन गरिने पनि बताईएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै कञ्चनजंघा टि–इस्टेट एण्ड रिर्सच सेन्टर तथा अर्गानिक नेपाल एशोेसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गर्न लागिएको बताए ।

‘अहिले बल्ल सरकारी निकायहरुले पनि अर्गानिकको लागि चेतना फैलाउन सुरु गरेका छन् ।’ उनले भने,‘सरकारले अहिले १२÷१३ अर्ब खर्च गरेर फोर्टिलाइजर ल्याउँदैछ, त्यो रकम कृषिमा खर्च गरेमा नेपालले कृषिमा सस्टेन गर्नसक्छ । २÷३ वर्ष पनि लाग्दैन् । कृषिलाई आत्मनिर्भर बनाउन सक्छौं । यो मल हामीले केमिकल्स विषादी ल्याउन पर्दैन् ।’

उनले संसार अहिले अर्गानिकको ट्रेनमा गइराखेको उल्लेख गर्दै उनले फर्टिलाइज र केमिकल्स प्रयोग गरेर खेती गर्ने प्रणालीलाई त्याग्दै गरिरहेको जिकिर गरे ।  संसारले अब उत्पादन गर्ने मेसिनहरु फाल्दै गएको पनि बताए । त्यस्तै, अर्गानिक एशोसिएसनका महासिच तथा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले  पहिला–पहिला नबुझेर मानिसहरु लागेपनि अहिले अर्गानिक कृषितर्फ बुझेर नै लागेको बताइन् । आफ्नो स्वास्थ्यमा सचेत भएका मानिसहरु अर्गानिक कृषितर्फ उन्मुख भएको उनले जिकिर गरिन् ।

सुरुवाती समयमा भन्दा दशौं गुणा मानिसहरु अर्गानिक कृषि फर्ममा भिजिट गर्न आउने पनि जानकारी दिईन् । गत वर्षहरुको मेलामा १ लाख भिजिटर आएको उल्लेख गर्दै अब हुने मेलामा विगतको भन्दा धेरै भिजिटर आउने विश्वास व्यक्त गरिन् । कोइरालाले मेलामा ५० भन्दा बढी स्टल राख्ने र ३० लाख खर्च अनुमान रहेको बताउँदै १ करोडको कारोबार हुने अपेक्षा संस्थाले राखेको सुनाइन् ।

मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गरिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु फलफुल, बिउ, विजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी प्रोजेक्टहरु राखिने भएको छ ।

कार्यक्रममा कन्ट्री अफ वल्र्ड पिसका डा.किस्ली ब्रो ग्रोबल र लेस्ली ब्रो ग्रोबल मदर डिभाइनले पनि आफ्नो भनाई राखेका थिए । उनीहरुले कृषिका लागि नेपाल उपयुक्त भूमि भएको बताएका थिए । कृषिमा नेपालले धेरै ठूलो प्रगति गर्नसक्ने उनीहरुको विश्वास छ । कार्यक्रमको सञ्चालन बाँस्कोटा गु्रप अफ इन्डष्ट्री प्राइभेट लिमिटेडकी निर्देशक समिक्षा बाँस्कोटाले गरेकी थिइन् । उनले पाँचौ अर्गानिक मेलामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क प्रवेश गर्नसकिने जानकारी दिइन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ६ : १२ बजे