९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राष्ट्रिय महिला लिग : ललितपुर, धनगढी र प्रहरी विजयी



१२ चैत ०७८,चितवन । दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा धनगढी, ललितपुर र नेपाल पुलिसले जित हात पारेका छन्।

शुक्रबार भएको पहिलो खेलमा धनगढीले वालिङलाई ६-० को फराकिलो अन्तरले पराजित गर्‍यो। भरतपुर–१९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा धनगढीलाई जिताउन चन्द्रा भण्डारीले ४ गोल गरिन्। अन्जना थुलुङ राई र सीमा रावलले १/१ गोल गरे।

एकतर्फी खेलको १० औं मिनेटमा सीमाको गोलबाट धनगढीले अग्रता लियो। २९ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाइन्। ३५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा धनगढीलाई ३-० को अग्रता दिलाइन्।

दोस्रो हाफमा धनगढीले ३ गोल थप्यो। दोस्रो हाफको दोस्रो मिनेटमा नै चन्द्राले ह्याट्रिक पूरा गरिन्। ७० औं मिनेटमा अन्जनाले धनगढीका लागि पाँचौँ गोल गरिन्। ७३ औं मिनेटमा चन्द्राले व्यक्तिगत चौथो गोल गरेपछि धनगढीले ६-० को फराकिलो जित दर्ता गर्‍यो। चन्द्रा नै खेलको प्लेयर अफ दि म्याच भइन्।

दोस्रो खेलमा ललितपुरले चन्द्रपुरलाई १-० ले पराजित गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा बिष्णु साम्बाहाम्फेले गोल गरिन्। पहिलो हाफमा थप गरिएको ५ मिनेटको अन्तिम मिनेटमा बिष्णुले गोल गरिन्। उक्त गोल नै ललितपुरलाई जिताउन पर्याप्त भयो। खेलको प्लेयर अफ दि म्याच ललितपुरकी डिफेन्डर सृजना सिंह घोषित भईन्।

तेस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस क्लबले विराटनगरलाई २-० ले पाखा लगायो। पुलिसको जितमा दुवै गोल निर्मला उपाध्यायले गरिन्। खेलको १४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। निरु थापाको क्रसमा विराटनगरकी गोलकिपर कल्पना कार्कीलाई बिट गर्दै निर्मलाले सुन्दर गोल गरिन्।

७५ औं मिनेटमा निर्मलाले नै व्यक्तिगत दोस्रो गोल गरिन्। डि-बक्स बाहिरबाट उनले गरेको सशक्त प्रहार विराटनगरकी गोलकिपरले बचाउन सकिनन्। निर्मला नै प्लेयर अफ दि म्याच भइन्।

लिगमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १ः१५ बजे ललितपुर र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ बजे वालिङ र विराटनगर भिड्नेछन्।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ५९ बजे