९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मुड्खु–तीनपिप्लेका स्थानीयद्वारा पुन: सडक अवरुद्ध, उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या



१८ चैत्र ०७८, काठमाडौं । मुड्खु–तीनपिप्ले सडकका स्थानीयले सडक पुन: अवरुद्ध गरेका छन् । सम्झौता अनुसार सडक कालोपत्रे गर्न आलटाल गरेको भन्दै तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधनमा रोक लगाएका हुन् ।

सम्झौता अनुसार ठेकदारले बाटो निर्माणमा अलमल गरेकाले बाध्य भएर पुनः बाटो अवरोध गर्नु परेको पासाङ ल्हामू राजमार्ग सुधार संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले बताए ।  ‘चैत्र मसान्त सम्ममा पिच गर्ने सम्झौता भएता पनि ठेकदारले झुलाउने मात्रै काम गरेकाले  बाध्य भएर बाटो अवरोध गरेका हौ’  संयोजक गजुरेलले भने, ‘एक चरणको बेस ओछाउने  र रोलरिंगको काम सकिसकेको छ तर पिचको काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनि आजको दिन सम्म कुनै तयारी नगरेकाले  बाटो अवरोध गरेका हौ ।’

कालोपत्रेको लागि सामान झारेर काम अगाडी नबढाएसम्म बाटो अवरोध गरिरहने गजुरेलले बताए। ठेक्का सम्झौता भएको लामो समय भइसक्दा पनि सडक स्तरोन्नतिको काम नभएपछि स्थानीयहरूले यस अघि पनि संघर्ष समिति नै बनाएर आन्दोलन गरेका थिए । करिब दुई हप्ता बाटो अवरोध भए पछि महानगरपालिकाको समन्वयमा ठेकदारसँग  चैत्र मसान्तसम्ममा मुड्खु–ठुलो खोला बाटो कालोपत्रे गर्ने सम्झौता भएको थियो।

मुड्खु–तीनपिप्ले खण्ड कालोपत्रेको माग राख्दै स्थानीयले रोक्दा काठमाडौंको फोहोर सङ्कलन समेत प्रभावित बन्ने देखिन्छ । स्थानीयको अवरोधका कारण उपत्यकाको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिने देखिएको हो । मुड्खु– तिनपिप्ले सडक खण्ड अवरोध भएपछि सिसडोल ल्याण्डफिल साइटमा  जाने  फोहोरका टिपरहरूलाई स्थानीयले तिनपिप्लेबाटै फिर्ता पठाउने गरेका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ४८ बजे