९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बोडेमा ‘जिब्रो छेड्ने जात्रा’, अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण   



२७चैत्र ०७८, भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए ।

बुद्धकृष्णले भने, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन, युवापुस्ता तयार हुनुपर्छ ।”

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उनी बताउँछन् ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ३४ बजे