९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा अनधिकृत प्लटिङ बढ्दाे !




ललितपुर खबर संवाददाता

३ वैशाख ०७८, ललितपुर ।  ललितपुरको छिमेकी जिल्ला भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा केहि समय अगाडि जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा दुई जनाको ज्यान गयो ।  ताथलीको नालाछापस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा खाल्डो खन्दा ढिस्कोले पुरिएर काभ्रेका दुईको ज्यान गएको हो ।

 

घटनामा काभ्रेको चौरी देउराली गाउँपालिका घर भई ताथली बस्ने ५० वर्षीय वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका ९ घर भई ताथलीमै बस्ने ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भयो । प्लटिङमा काम गरिरहेको अवस्थामा ढिस्को खसेको बताइएको छ । घटनास्थलमा स्थानीयहरू तथा पीडित परिवारहरूले क्षतिपूर्तिको मागसहित आन्दोलन समेत गरे । निकै भिरालो जग्गा खारेर प्लटिङ हुँदै गर्दा यस्तो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उपत्यकाका जताततै भिराला डाँडापाखामा डोजर लगाएर प्लटिङ गर्ने क्रम बढेको छ । स्थानीय तहबाट प्लटिङका लागि जथाभावी अनुमति दिँदा जोखिम बढेको छ । यस्ता प्लटिङमा भौतिक संरचना निर्माण गर्दा भाँसिने तथा पहिरिने खतरा हुन्छ । भूकम्पको समयमा यस्ता ठाउँका संरचना भासिने र ढल्ने जोखिम बढी हुन्छ ।

ललितपुरमा पनि त्यस्तै समस्या

ललिपुर जिल्लामा पनि पछिल्लो समय ‘प्लानिङ परमिट’ नै नलिइ धमाधम अनधिकृत प्लटिङ गर्ने क्रम बढेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) का भक्तपुर र ललितपुर जिल्ला आयुक्तको कार्यालयले केहि समय अगाडि आफ्नो क्षेत्रमा अनुगमन गर्दा भक्तपुरमा ९२ ठाउँमा र ललितपुरमा ४९ ठाउँमा स्वीकृति नलिइ अनधिकृत प्लटिङ भइरहेको फेला पारेको हो ।
उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीत तयार पारिएका प्लटिङ क्षेत्र खोजी गरी छानबिन प्रक्रिया अघि बढाएको छ ।

बन्दै गरेका प्लटिङलाई मापदण्डमा ल्याउन प्रयास गर्ने, नभए कारोबार रोक्का राख्ने प्राधिकरणले बताएको छ । प्राधिकरण विकास आयुक्त जानुका ढकालका अनुसार उपत्यकामा दुई सय हाराहारीमा अनधिकृत प्लटिङ भइरहेको छ । स्थानीय तहको समन्वय र सूचनाका आधारमा ती स्थान पत्ता लगाइएको हो ।

तोकिएको मापदण्डअनुसार भएका जग्गालाई अनुमति दिने र रोक्का फुकुवा गरिनेछ । प्लानिङ परमिट नलिइ जग्गा विकास (प्लटिङ) गर्दा धेरै जग्गा जोगिने र मापदण्ड पनि पालना गर्नु नपर्ने भएकोले घरजग्गा कारोबारीहरु छोटो बाटो प्रयोग गर्न थालेका हुन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले प्लानिङ परमिट स्वीकृत नगराई विकास गरिएका घडेरी, हाउजिङ र अपार्टमेन्ट अनुगमन तथा कारबाही गर्न थालेको छ । अनिवार्य प्लानिङ परमिट स्वीकृत गराएर मात्र जग्गा विकास, हाउजिङ र अपार्टमेन्ट निर्माण गर्न केभिडिएले ताकेता गरेको छ ।

केभिडिएको ललितपुर जिल्ला आयुक्तको कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र अनुगमन गर्दा ७२ ठाउँमा प्लानिङ परमिट नलिइ अनधिृकत रुपमा जग्गा विकास र हाउजिङ निर्माण थालनी गरेको भेट्याएको थियो । आयूक्तको कार्यालयले केहि समय अगाडि सार्वजनिक सूचना प्रकाशित गर्दै योजना स्वीकृत नगराइ गरिएको जग्गा प्लटिङरप्लानिङ डेभलपरलाई ७ दिनभित्र प्लानिङ स्वीकृत गराउन समेत निर्देशन दिएको थियो ।

के छ मापदण्ड ?

मापदण्डअनुसार प्लटिङ क्षेत्रभित्र १५ प्रतिशत जग्गा बाटोका लागि छोड्नु पर्नेछ । यसमा भित्री सडक ६ मिटर र मुख्य सडकसँग जोडिएको सडक ८ मिटर हुनै पर्ने, ५ प्रतिशत क्षेत्रफल खुला राख्नुपर्ने, सार्वजनिक जग्गा चलाउन नपाइने लगायत नियम छन् ।

ललितपुरमा कहाँ कहाँ हुँदैछ स्वीकृत नगराइ प्लटिङ

ललितपुर आयुक्तको कार्यालयले अनुगमन गर्दा गोदावरी नगरपालिकामा ३१ ठाउँ, महालक्ष्मी नगरपालिकामा ११ ठाउँ र ललितपुर महानगरपालिकाभित्र ३१ ठाउँमा प्लानिङ स्वीकृत नगराइ जग्गा विकास, अपार्टमेन्ट र हाउजिङ निर्माण भइरहेको फेला पारेको जनाएको छ ।

हेर्नुहोस्

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ३३ बजे