६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपालमा ७४ वर्षपछि दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन



गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

८ वैशाख ०७९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिएका छन् । उनले भने, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छाँै ।”
महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिए । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उनले उल्लेख गरे । उनले भने, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।”
यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ ।
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् ।

आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।
बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।
कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४सँै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए । रासस

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : १० बजे