७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४२३ पालिकाको मतपरिणाम : कांग्रेस १९४, एमाले १२० र माओवादी ८३ पालिकामा विजयी



४ जेठ ०७९, काठमाडौं । वैशाख ३० गते भएको स्थानीय चुनाव अन्तर्गतको मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म ४२३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १०२ वटा नगरपालिका र ३२१ वटा गाउँपालिका गरी ४२३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस

सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९४ वटा पालिकामा जितेको छ । ५५ वटा नगरपालिका र १३९ वटा गाउँपालिका गरी कांग्रेसले १९४ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको हो ।

यस्तै कांग्रेसले ४७ वटा नगरपालिकाको उपमेयर र १३९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १८६ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ हजार ९३९ वटा वडामा अध्यक्ष जितेको छ ।

एमाले

पालिका चुनावको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म २९ वटा नगरपालिका र ९१ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुख पद जितेको छ ।

एमालेले ३३ वटा नगरपालिकाको उपमेयर र ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १२२ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमालेले १ हजार ५०९ वटा वडामा अध्यक्षमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र

माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ८३ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादी केन्द्रले १५ वटा नगरपालिकाको उपमेयर र ७६ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ९१ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादीले ८२१ वटा वडामा अध्यक्ष पदमा जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)

नेकपा एकीकृत समाजवादीले १ नगरपालिका मेयर र ५ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल

निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अरु दलबाट गरी अहिलेसम्म १५ जना पालिकाको मेयर तथा अध्यक्षमा विजयी भएका छन् । जसमध्ये जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले ३ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिकामा जितेको छ । नेपाल मजदुर किसान पार्टीले १ नगरपालिकामा मेयर जितेको छ । अरु ४ वटा स्वतन्त्र रहेका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अन्य गरी २ वटा नगरमा उपमेयर तथा ९ वटा गाउँपालिकामा उपाध्यक्ष गरी ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।