७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरणः एसएसपीको नेतृत्वमा छानविन समिति गठन




६ जेठ ०७९, काठमाडौं ।   सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो।

उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा बनेको समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, डीएसपी हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन्।

गृहमन्त्री खाँणले किशोरीले सार्वजनिक गरेको भिडियो बारे आवश्यक अनुसन्धान गरी दोषीलाई सजाय गर्न निर्देशन दिएका छन्।

समितिले शुक्रबारबाटै काम सुरु गरेको छ। शुक्रबार अपरान्ह एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको छ।

उनीहरुले घटनाको बारेमा पीडितसँग जानकारी लिएको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए।

पीडितलाई भेट्नु अघि प्रहरीले कानुनी परामर्श गरेको थियो। बलात्कारको मुद्दामा हद म्याद नाघेकाले अब कुन कसुरमा कारबाही अगाडी बढाउने भन्ने परामर्श गरेको थियो। घटनाका बारेमा जानकारी लिँदै कानुनी प्रावधानका बारेमा पीडितसँग प्रहरीले परामर्श गरेको छ।

७/८ वर्ष पहिले भएको घटना पीडितले टिकटक मार्फत सार्वजनिक गरेकी थिइन्।

त्यसलगत्तै घटनामा संलग्नलाई कारबाही गर्न चौतर्फी दबाब बढेको छ। कानुन अनुसार हद म्याद नाघे पनि पीडकलाई उन्मुक्ति नदिन प्रहरीले कुन कसुर आकर्षित गर्न सकिन्छ भनेर बाटो खोजेको छ।

यस्तै प्रहरीले घटनामा संलग्न भनिएका व्यक्ति माथि पनि निगरानी बढाएको छ।

दोषीमाथि सजाय माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।