६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झकिझकाउ संसद् भवन




१० जेठ ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नीति कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजेका लागि राखिएको थियो ।


राष्ट्रपति संसद् भवन आउने भएपछि संसद् भवन परिसर झकिझकाउ गरिएको थियो । संसद् भवनको मुख्यद्वार अगाडि रहेको पानीको फोहोराले संसद्मा आमन्त्रण गरिएका विशिष्ट व्यक्तिलाई स्वागत गरेको थियो । संसद् सचिवालयले विशेष अवस्थामा मात्रै उक्त पानीको फोहोरा सञ्चालनमा ल्याउने गर्दछ ।


संसद् भवन परिसरमा राष्ट्रिय झण्डा र विभिन्न ध्वजापताका सजाइएको थियो । संसद् भवन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संसद् सचिवालयका कर्मचारीले पुष्पगुच्छाले स्वागत गरेका थिए । नेपाली सेनाको परमाधिपतिसमेत रहनुभएका राष्ट्रपतिलाई सेनाको एक टुकडीले राष्ट्रिय गानसहित सलामी अर्पण गरेको थियो ।


राष्ट्रपतिबाट नीति कार्यक्रम प्रस्तुत गर्ने रोष्ट्रममा समेत फूलहरुले सजाइएको थियो । संसद्को रोष्ट्रममा सभामुख र अध्यक्षको बीचमा बसेर नीति कार्यक्रम वाचन गर्ने व्यवस्था मिलाइएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
संसद् भवनमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । अधिकांश सञ्चारमाध्यमले नयाँ बानेश्वरबाट नीति कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।