९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउमा असारे विकासले सास्ती



सडक बन्द भएपछि चापागाँउमा रोकिएका सवारी साधन ।

३ असार ०७९, चापागाँउ । आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै गोदावरीको चापागाँउमा जताततै धमाधम सडक मर्मत सुरु भएको छ ।
चरैतिर सडक मर्मत सुरु भएपछि स्थानीय यात्रु वैकल्पिक बाटो नपाएर हैरान हुने गरेका छन् ।
टाहाखेलकी ज्योती दुलालले हरेक दिन सडक बन्द हुँदा ठेचो स्कूल पढाउन जान सास्ती भएको बताइन् । उनले भनिन्, ‘बैकल्पिक सडक छैन । बच्चालाई हिडाएर स्कूल लैजादा खुट्टा दुख्यो मिस भन्छन् । साह्रै गाह्रो छ ।’
सडक विभागको बजेटमा चापागाँउ बजारमा ढलान सुरु भएसँगै बसपार्कबाट २ किलोमिटर अगाडि नै बसलगायत सवारीसाधन रोकिएको छ । बैकल्पिक सडक मार्ग झरुवाराशी टौखेल सडकमा पनि भासिएको खाल्टोमा अहिले ढलानको काम भइरहेको छ । उता सेरा फाँटमा पनि सडक ढलान सुरु भएपछि यात्रु हिड्ने बाटो नपाएर सास्ती बेहोर्न बाध्य छन् ।

झरुवाराहीमा ढलानका लागि ग्राइभेल राखेपछि ।

सामान ढुवानीका लागि टाटा मोवाइल चलाउने रमेश घिमिरे वैकल्पिक सडक नहुँदा गाडी थन्क्याउनु परेको बताए । उनले भने, ‘उसै त वर्षामा काम हुँदैन । त्यसमाथि चारैतिर सडक मर्मत गर्ने भन्दै बाटो बन्द । त्यसैले गाडी थन्क्याएर बसेको छु ।’
नगरपालिकाले भने सूचना जारी गरेर मालबाहक ढुवानी छम्पी एकान्तकुना र निर्माजन्य ढुवानी नख्खु करिडोरबाट गर्न भनेको छ । तर छम्पी सडक साँधुरो भएका कारण निरन्तर जाम हुने गरेको छ र नख्खु कोरिडोर बर्षाले बगाएर गाडी गुडाउन समस्या परेको टिपर चालकहरु बताउछन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सडक ढलान सक्न २ महिना लाग्ने बताए । उनले भने, ‘खाल्टा भए पनि गुनासो सुनिन्छ । मर्मत गर्दा सडक बन्द गर्नै पर्यो ।’
स्थानीय जीत बहादुर लामाले सडक मर्मतको काम राती गरेर जनतालाई सझिलो बनाउनु पर्नेमा प्रशासन र ठेकेदारले सास्ती दिएको बताए । उनले भने, ‘राती टिपर गुडेको देखिन्छ । दिउँसो हिढ्नेलाई बाटो छेकिन्छ ।’
निरञ्तर झरि पर्ने समयमा ढलान सुरु ठेकेदार कम्पनीले सडक विगार्न खोजेको स्थानीयहरुको गुनासो छ । तर ठेकेदार कम्पनीका प्रतिनिधि मोहन मल्ल पानी नपरेको समयमा ढलान गर्ने बताउछन् । भन्छन्, ‘हामी रेडिमिक्स ल्याएर ढलान गछौं ।’

ठेकेदार कम्पनीले सडक सफा गर्नमात्रै हप्ता दिन लगाएपछि समयमै काम सकिनेमा शंका उत्पन्न भएको हो । सडक पेल्न र डण्डी विछ्याएपछि मात्रै ढलान गर्न सम्भव हुने स्थानीय रमेश देशारले बताए । उनले भने, ‘ढलान गरेपछि सेट हुन मात्रै १ महिना लाग्छ । सबै एकै खण्डमा काम नहोला ।’ उनले दशै अघि काम सक्न नसकिने दावी गरे ।

चापागाँउको शेराफाँटमा ढलानका लागि सडक मिलाइदै ।

ढलानका कारण खानेपानी र ढलको समस्या
स्थानीय सडकमा ढलान गर्ने भएपछि खानेपानीको पाइप र ढलको समस्या बल्झने भन्दै स्थानीय चिन्तित छन् ।
मध्य सडकमा खानेपानीको लाइन रहेको र त्यसै ठाँउमा ढलान गरिने भएपछि स्थानीयबासी आजकल नयाँ पाइप राखेर धारा जडान गर्न व्यस्त छन् । ढल सुविधा नरहेको बजारमा बर्षे झरिले दुःख दिने भन्दै स्थानीय चिन्तित भएका हुन् । देशार भन्छन्,‘यहाँ ढल राखेर मात्रै ढलान हर्नु पर्ने । ढल राखेको भए वरपरको ड्रेन मासेर सडक बनाउ सकिन्थ्यो । सडक फराकिलो पनि बन्थ्यो ।’

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ३४ बजे