७ असार ०७९, काठमाडौँ । हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गर्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ । कपन क्षेत्रदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ ।
विकासको नाममा स्काभेटर प्रयोग गर्दा हरेक वर्ष जताततै यी क्षेत्रमा ठूला–ठूला खाल्डा र जताततै भत्किएको छ । कहिले सडक, कहिले ढल, कहिले खानेपानीको नाममा कपनबासीले अव्यवस्थित ढलसँगै आएको बाढीको समस्या बेर्होदै आइरहेका छन् । अव्यवस्थित ढल र ढलसँगै बग्ने पानीको मात्रा धेरै भएपछि ढलको बिर्को भत्किएर जताततै दुर्गन्धितसमेत हुँदै आएको छ । मिलनचोक, गोपीकृष्ण हल सरस्वतीनगरलगायत आसपास क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका हुन् । वर्षासँगै बगेको पानीको उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको हो ।
पानी परेपछि चाबहिलको मालपोत कार्यालय नजिक ढल भत्किएर सडकबाट पानीको मुस्लो निस्कने गरेको छ । त्यहाँ नहरमा झैँ पानी बग्ने गरेको छ । मालपोत कार्यालयले नै यो दुर्दशा वर्षौंदेखि खेप्दै आइरहेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको छ । कपन प्रवेश गर्ने गोपीकृष्णसँगैको सडकको मुखैमा ठूला–ठूला खाल्डो बनेका छन् । अव्यवस्थित ढलका कारण गत असोजमा बूढानीलकण्ठ नगरपालिका १० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विकको मृत्युसमेत भएको थियो ।
बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका १ घुसेलको वाग्मती नदी किनारमा फेला परेको थियो । अव्यवस्थित ढल कपनवासीको लागि पासो बन्ने गरेको छ । कहिलेसम्म हामीले यो नियति भोग्नुपर्ने हो कपनका व्यवसायी दीपक नेपालीको प्रश्न छ । त्यतिमात्रै होइन वर्षासँगै आउने भेलका कारण मिलनचोकले धेरै मोटरसाइकल, साइकल र टेम्पो बगाएको छ । धेरैले तरकारी, कपडा, जुत्ताचप्पलको व्यवसाय गर्दै आएका ठेलगाडा पनि बगाएको छ ।
मिलनचोकमा पानि परेपछि सडक र पसलबाट खोलो नै बग्ने गरेको छ । स्थानीयवासी सडकसमेत पार गर्न सक्दैनन् । हरेक वर्ष यस क्षेत्रमा बाढी आउने गरेको भए पनि नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझँै गर्ने गरेको स्थानीयवासीको आरोप छ । यहाँको यो समस्या समाधानका लागि कहिले उचित र छिटो काम होला भन्ने दिनगन्दै कपनवासी पर्खिरहेका छन् । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत धेरै पटक दुर्घटनामा पर्ने गरेका छन् । भृकुटीचोकदेखि मिलनचोकमा प्राय यो घटना देखिने स्थानीयवासी हरिशरण दुलाल बताउछन् । घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्नुपर्ने अवस्था छ । कतिपयलाई त सोही बाढीले बगाउने पनि गर्दछ । कपनवासीले यस्तो समस्या वर्षौंदेखि खेप्दै आएका हुन् । धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग सडक मर्मत तथा स्तरोन्नतिका लागि माग नगरेका पनि होइनन् तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्तिले हैरान भएको उनीहरुको गुनासो छ । ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् ।
कपनको सडक हुँदै गुड्ने मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । कता खाल्डो छ भन्ने थाहा नपाउँदा दुर्घटनासमेत हुने गरेको छ । कपन मिलनचोक नजिक बस्ने दिलीप चौधरी सडकमा बगेको पानी देखाउँदै भन्छन्, “यहाँ कहाँ सडक छ ? यहाँबाट पार कसरी गर्ने ? यस्तो दुर्दशा कहिलेसम्म सहने ? यी समस्या भन्दै गर्दा चौधरी चिन्तित देखिनुहुन्थ्यो ।” कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका बासिन्दा आजित बनेका छन् ।
यातायातका साधन पनि प्राय अवरुद्ध हुने गर्दछ । कपन चौकी हुँदै मिलनचोक तरकारी बजारबाट साततले पानीको भेलले चार ठाउँमा सडक अवरुद्ध हुने गरेको छ । हरेक वर्ष बर्खा आउँछ, सडक बगाउँदा पनि सरकारी बेवास्ताका कारण यहाँका व्यवसायी र स्थानीय चिन्तित बनेका छन् । यस्ता समस्याको समाधान नुहँदा व्यवसाय नै चौपट भएको उनीहरुको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ । सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर ढलको उचित व्यवस्थापन गर्नुपर्ने र यस्ता समस्याको समाधान गर्नुपर्ने माग छ । जनप्रतिनिधिको बेवास्ताले कपनवासीको मागको सम्बोधन नभएको उनीहरुको गुनासो छ । सरकारले यस विषयमा उपयुक्त निर्णयका साथ उचित समाधान गर्नुपर्ने कपनवासीको तर्क छ ।
प्रतिक्रिया