
१२ असार ०७९, काठमाडौं । साना कृषि फर्महरुको रुपान्तरण एवं रुपान्तरणको दिगो व्यवस्थापनको लागि राष्ट्रिय सम्मेलन २०७९ ललितपुरमा सम्पन्न भएको छ । यूएसएआइडी र सीआरएसको आयोजनामा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागीहरुले साना किसानहरुको रुपान्तरण एवं दिगो व्यवस्थापनको लागि सरकारले ठोस नीति तथा कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा. पुण्य प्रसाद रेग्मीले साना किसानहरुलाई माथि उकास्ने खालको ठोस नीति कार्यक्रमको खाँचो रहेको औँल्याए ।
पछिल्लो समय सरकारी संस्थाहरु भग्नावशेष जस्तो भएको भन्दै उनले सरकारी संस्था बलियो भए सेवा प्रवाह पनि बलियो हुने बताए । आफ्नो विश्वविद्यालयले ७७ वटै जिल्लामा प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई इन्टरसीपमा पठाएर किसानका समस्याहरु समाधानमा सहयोग पुर्याइरहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेट किसानमैत्री भएको भन्दै त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने उपकुलपति रेग्मीले बताए । किसानहरु तल्लो तहमै रहेको भन्दै रेग्मीले पूर्वाधार र प्रविधिलाई स्थानीय तहसम्म पठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले अहिले पनि साना किसानहरुको समस्या जस्ताको त्यस्तै रहेको बताए ।
किसानहरुले जोखिमको यात्रा गरिरहेको भन्दै उनीहरुले प्रविधिक पाउन नसकेको, उत्पादन र किरासँग लड्ने खालको प्रविधि नभएको बताए । किसानहरु बाढी, पहिरो जस्ता प्राकृति विपदसँग पनि ठगिएको उनको भनाइ छ । उत्पादित वस्तुको मूल्य पाउन र भुक्तानी सहजै पाउन नसक्नु दुखद रहेको उनको भनाइ छ । कृषि पेशा राजनीतिक दलको प्राथमिकतामा नपरेको उनको गुनासो छ । कृषिमा आएर काम गर्न चुनौती नै चुनौती रहेको सचिव शर्माले बताए । सरकारले बजेटको हिसाबले पनि कम मात्र छुट्याउने गरेको भन्दै उनले साना किसानहरुलाई नीति, प्रविधि र भूमीमा समस्या रहेको बताए ।
कृषि मन्त्रालयका सहसचिव डा.राजेन्द्र मिश्रले देश तीन तहमा गइसकेपछि मात्रै कृषि क्षेत्रमा एक खर्व बराबरको सहयोग भएको बताए । पछिल्लो समय कृषि प्राविधिकहरुका सथौ नीजि लगानीकर्ताहरु पनि बढेको उनको भनाइ छ । कृषि ट्रान्फमेसन’को फेजमा रहेको भन्दै उनले त्यसलाई गाइड गर्न सक्नुपर्ने बताए । कृषिको व्यवस्था स्थानीय तहबाट बलियो बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा कृषि तथा पशु विज्ञान संस्थान, त्रिभुवन विश्वविद्यालयका डीन डा। भार्गव धितालले कृषि प्रधान देश नेपालमा किसानहरुले अझै पनि सहजै रासायनिक मल पाउन नसकेको भन्दै गुनासो गरे । सरकारले कृषि क्षेत्रमा करोडौँ लगानी गरेपनि प्रतिफल भने कम मात्रै पाएको बताए ।
गण्डकी विश्वविद्यालय पोखराका उपकुलपति प्रा.नवराज देवकोटाले कृषि क्षेत्रको विकास जटिल अवस्थामा रहेको बताए । उनले किसानदेखि किसान कार्यक्रमले विशेषज्ञ र स्वयम्सेवी सेवा दिने कार्य आफैँमा महत्वपूर्ण रहेको बताए ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरकी विभाग प्रमुख प्रा. दुर्गा देवकोटाले नेपालमा पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेको भन्दै उनीहरुलाई नेपालमै कृषि क्षेत्रको माध्यमबाट व्यवसायीक बनाउनेतर्फ राज्यले ध्यान दिनुपर्ने बताइन् । किसानहरु अहिले पनि सिँचाई लगायत अन्य धेरै समस्याहरु झल्ने बाध्य भएको उनको भनाइ छ ।
यूएसएआइडीका नभिन हाडाले किसानहरुले आफ्नो व्यावसायलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताए । कृषि क्षेत्रमा काम गर्नका लागि कस्तो किसिमका कार्यक्रम ल्याउने भनेर आफुहरुले कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । साना किसान लक्षित नीति बनाउन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो ।
सिआरएस नेपाल ‘फ्रामर टु फ्रामर’ प्राजेक्टका निर्देशन निर्मल गडालले नेपालमा साना किसानहरुको दिर्घकालनी रुपान्तरण, वर्तमान अवस्था र आगामी कदमका बारेमा जानकारी गराउँदै आफूहरुले साना किसानहरुको हक हितका लागि विगतदेखि नै काम गर्दै आएको बताए । उनले समग्र कृषिको अवस्था संवेदन शिल मोडमा पुगेको भन्दै उत्पादन सामग्री र खाद्यन्नको आयात बढेको बताए । आगामी दिनमा यो समस्या समाधानका लागि आफुहरु लागि रहने उनको भनाइ छ ।
राष्ट्रिय कृषक समुह महासंघ, नेपालका अध्यक्ष नवराज बस्नेत, नेपाल कृषि सहकारी केन्द्रीय संघका महेश्वर सुवेदी लगायतले ८० प्रतिशत भन्दा बढी उत्पादनमा साना किसानको योगदानमा केन्द्रित रहेको बताए । कृषिमा साना किसानको योगदान रहेन पनि बजेटले किसानका समस्या सम्बोधन गर्न नसकेको भन्दै गुनासो गरे ।







प्रतिक्रिया