९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा फेरि समस्या




१४ असार ०७९, काठमाडौं । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन् ।
सामान्य अवस्थामा प्रतिदिन ३ सय सम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १ सय गाडीले मात्र फोहर व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहरकै डङ्गुरबाट गाडीहरू बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताए ।

गत फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्नका लागि केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग काठमाडौँ महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो ।
तत्कालका लागि स्थानीयवासीको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको महानगको भनाइ छ । यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । महानगरले फोहरको सहज व्यवस्थापनका लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई स्रोतबाट नै वर्गीकरण गर्न लागेको जनाएको छ ।
महानगर, सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमतिअनुसार महानगरले यस किसिमको अभ्यास गर्न लागिएको हो । वातावरण विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु ५ सय जरिवाना गरिनेछ ।
महानगरका लागि यो नौलो अभ्यास भने होइन, ३२ वडा रहेको महानगरमा यसअघि पनि केही वडामा स्रोतमा नै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुआत भए पनि कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन भने सकेन ।
रासस

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : २१ बजे