१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा कुहिने र नकुहिने फोहर सङ्कलनबारे तालिका सार्वजनिक,तालिका अनुसार फोहोर नदिए जरिवाना




३२ असार ०७९,काठमाडौँ । महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।
पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति रु ५ सय जरिवानासमेत गर्ने जनाइएको छ । महानगर वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ । पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि महानगरले यस किसिमको अभ्यास सुरु गर्न लागेको हो ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ०२ बजे