१० साउन ०७९, काठमाडौं । प्रत्येक वर्ष श्रावणकृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण आज राजधानीको भित्री सहरमा मनाइएको छ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अथवा घण्टाकर्ण पर्व संस्कृति पर्वअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवारी समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ ।
परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरुप बिहान हरियो नर्कट, निगालो अथवा गहँुको छवाली मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ ।
संस्कतिविद् तेजेश्वरबाबु ग्वँगले दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतमा लगेर बाल्दा धानमा कीरालगायत रोग नलाग्ने विश्वास रहेको बताउछन । गठामङ्गललाई स्थान एवं ठाउँ विशेषअनुसार कसैले भने नदी वा खोला किनार लगी जलाउँछन् ।
यसैगरी बिहानै स्नान, पूजापाठ गरी घर, आँगन सफा गरिने, केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक जलाउने गरिन्छ ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज, तमोगुण मानेर भैरवका प्रतीकका रुपमा लिइन्छ । यसलाई नवविवाहित स्त्री पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीका तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरको भित्री भागमा चलनमा छ । आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्ने विश्वाससमेत छ ।
प्रतिक्रिया