८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको देउराली सहकारी झन् समस्यामा




१४ साउन ०७९, ललितपुर । ललितपुरको सातदोवाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्था बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा झन् झन् समस्यामा फस्दै गएको छ ।
गत असार पहिलो साताबाट बचत रकम लिनेको लस्कर लागेको यस सहकारीमा पैसा लिन आउनेहरुको घुइचो छ । तर सहकारीले अहिले पैसा दिन सकिदैन भन्दै रित्तो हात फर्काइरहेको छ ।
सहकारीको रिसेप्सनमा काम गर्ने एक कर्मचारीका अनुसार पछिल्लो समय चेकमा केही दिनपछिको मिती लेखि दिएर पछि साट्ने गरिएको छ । उनले भनिन्, ‘पाँच सात दिनपछि मात्रै चेक साटिन्छ । हामी अहिलेसम्म पैसा नलिएको भए १० हजार दिन्छौं । त्यो भन्दा धेरै पैसा दिन सकिदैन ।’
आर्थिक वर्षको अन्त भएकोले समस्या आएको बताउदै सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले साउनको पहिलो साताबाट भने जति पैसा दिने बताउदै आएका थिए । तर साउनको दोश्रो साता पुरा भए पनि निक्षेपकर्ताले पैसा पाएका छैनन् । रविन्द्र भने आफूले कारोबार मिलाइसकेको दावी गर्छन् । भन्छन्,‘आउँदो सोमबार जग्गा विक्रीको बैना आँउछ अनि कारोबार सहज हुन्छ । उनले दावी गर्र्दै भने,‘४ अर्वमध्ये ८५ करोड मात्रै बचत फिर्ता गर्न बाँकी छ ।सहकारीले ३ अर्व ३० करोड फिर्ता भइसक्यो ।’
उनको दावी अनुसार पछिल्लो समय उनी असार २ गतेबाट १ लाखभन्दा तल पैसा हुनेहरुलाई बचत सबै फिर्ता गरिएको छ । संस्थाका अध्यक्ष रविन्द्र आफू कारोबार मिलाउन छोडरे नभागेको बताउछन् । उनी २ अर्वको जग्गा बेच्न आफू लागिरहेको बताउछन् । बैकबाट पनि पैसाहरु पनि आउन लागेको बताउछन् ।
पछिल्लो समय सहकारीको कार्यालयमा भने आएर पैसा फिर्ता गर्न भन्दै झगडा गर्नेको ताँती लागेको छ । सहकारीकी एक कर्मचारीले भनिन्, ‘हामी सम्हाल्न नसक्ने अवस्थामा पुगेका छौं । कहिले काँही ग्राहकसँग हात हालाहालको अवस्था आउछ । आज झगडा परेर टेवुलको शिशा नै फुट्यो ।’
सहकारीले सातदोवाटोस्थित मुल सडकमा ६ तले घर भाडामा लिएर सहकारी सञ्चालन गर्दै आएको छ भने सूर्यविनायक र नयाँ सडकमा समेत थप दुई शाखा खोलेर कारोबार गर्दै आइरहेको छ ।
रविन्द्रले आरआर गु्रप अफ कम्पनिजको रुपमा सहकारीको भवनमा सहकारीसँगै पूजा पोल्ट्री फाम,देउराली प्रोपर्टीज,मुन भेन्चर,अन्नपूर्ण डिस्टिलरी र आर आर रिसर्च नामक कम्पनीहरु सञ्चालन गरेका छन् ।
सहकारीमा समस्या आएपछि पुराना केही कर्मचारीले छोडेका छन् । केही बजारप्रतिनिधिहरु भने पैसा उठाउन बजार जाने गरेका छन् । एक बजार प्रतिनिधिले भनिन्, ‘हामी पैसा उठाउन नियमित गइरहेका छौं । बचत भन्दा पनि दैनिक ऋणको किस्ता र ऋण उठाइरहेका छौं । त्यही पैसा ल्याएर फिर्ता दिइएको हो ।’
सहकारीको पैसाले लेलेमा पोल्र्टी फाम खोलिएको छ । उनले सपनाकोघर डट कम नामक वेभ पेजमार्फत जग्गाको कारवार पनि गर्दथे । केही पैसा शेयरबजारमा पनि फसेको बुझिएको छ ।
शेयर बजारमा समस्या घरजग्गाको ओरालो यात्रा र बैंकले जग्गा घितोमा राखेर पैसा दिन छोडेपछि सहकारीलाई समस्या आएको हो ।
सहकारीको कारोवार विग्रेपछि उनको भाई रेसम चौलागाई सहकारीमा साथीभाई बटुलेर बस्न थालेका छन् । उनी आफ्नो छुट्टै व्यावसाय गर्ने भए पनि आजकल सहकारीमा समस्या आएपछि सहयोग गर्न आएको बताउछन् । उनी पाँच छ लाख निक्ष्ोप हुनेहरु सबैजसो बचत फिर्ता गरिएको दावी गछन् । सहकारीको कार्यालयमा पछिल्लो समय अध्यक्ष रविन्द्र चौलागाई बस्दैनन् । उनीलगायतका व्यवस्थापकहरु कारोवार मिलाउन चितवन गएको आगन्तुकहरुलाई बताउने गरिएको छ । सहकारीको कार्यालय अगाडि सम्भिावित झगडा रोक्न प्रहरी तैनाथ छन् ।


आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ रहेको छ । प्रतिवेदन अनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा देखिन्छ । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ ।
सहकारीमा समस्या आएपछि कार्यालयमा भीड थियो । पछिल्लो समय त्यो भीड हटेको उनी बताउछन् । भन्छन्, ‘हामी मिलाउदैछौं । सम्पती बेचेर कारोबार मिलाउने प्रयास भइरहेको छ ।’
संस्थाका अध्यक्ष र सञ्चालकहरुले सहकारी ऐन, नियमावली विपरित आफूखुसी रुपमा जग्गा, पोल्ट्री र शेयरबजारमा लगानी गर्दा संस्थामा समस्या आएको हो
संस्थाले ६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी दिने गरेर निक्षेप संकलन गरेको थियो । संस्थाले १ वर्षे आवधिको बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । सहकारीको सन्दर्भ ब्याजदरले १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन नपाउने व्यवस्था गरेको अवस्थामा उक्त संस्थाले २२ प्रतिशतसम्म ब्याज दिनेगरी बचत उठाएको हो ।
२०७६÷०७७ देखि संस्थाले नियामक निकायमा समेत विवरण समेत बुझाएको छैन । संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २३ करोड ५ लाख रुपैयाँ चालु पुँजी कर्जा लिएको छ । संस्थाले १ महिनादेखि उक्त कर्जाको ब्याज समेत तिरेको छैन । संस्था संकटमा परेसँगै राष्ट्रिय सहकारी बैंकको २३ करोड ५ लाख रुपैयाँ समेत उच्च जोखिममा परेको छ ।
संस्थाको कुल वासलात २०७८ असार ३१ गतेसम्म २ अर्ब ३६ करोड ३१ लाख ९२ हजार १ सय ३२ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल वासलास जम्मा १ अर्ब ४३ करोड ७१ लाख १० हजार ६ सय ६० मात्र थियो । एक वर्षको अवधिमै संस्थाले झण्डै १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीले निक्षेप संकलन गरेको देखिन्छ । हाल संस्थाको कुल वासलात ३ अर्बको हाराहारिमा रहेको बुझिएको छ ।
ठूला बचतकर्ताले एकै पल्ट पैसा झिक्दा आफूहरु समस्यामा परेको संस्थाका अध्यक्ष चौलागाई बताउछन् । आफूहरुसँग काम गर्दै गरेको ३० ÷३५ जना कर्मचारीले अर्को सहकारी खोलेकाले झन् समस्या थपिएको उनको भनाई छ । आफूहरुसँग कारोबार गर्नेहरु सबै व्यापारी ररेका कारण बैंकले ऋण बन्द गर्दा थप समस्या आएको उनको भनाई छ । पछिल्लो समय बैंकले एलसि खोल्दा रोकेपछि पनि समस्या आएको उनको दावी छ ।
उनले समस्या समाधानका लागि धेरै कारोबारहरु व्यक्तिगत चेकसँगै ३ महिनामा दिने तमसुक बनाएर दिएको बताए । उनी भन्छन्, ‘चार पाँच लाख निक्षेप हुने बचतकर्तालाई चाही मिलाउन सकिएन ।’

 

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : १२ बजे