१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा नयाँ शहर बनाउने योजनाको प्रस्ताव मन्त्रिपरिषद्‌मा



२६ साउन ०७९, काठमाडौं । काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ शहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ ।

उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ शहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी शहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो ।

स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी शहरी आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिए । शङ्खरापुर नगरपालिका-९, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २, ३ र ४ गोकर्णेश्वर नगरसपालिकाका–१, २ र ४ गरी आठ वटा वडाका खाली जग्गामा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ नमूना शहर बनाउने योजना तीनवटै नगरपालिकाले पारित गरी संयुक्त संयन्त्र निर्माण गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ शहर निर्माणको काम भइरहेको छ । यस क्षेत्रको २३ हजार रोपनी क्षेत्रफल जग्गामध्ये बस्ती एवं जङ्गल क्षेत्र छोडेर १६ हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण गर्न लागिएको हो । जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाको छ । आयोजनाको अवधारणा प्रस्तुति लगत्तै शङ्खरापुर नगरपालिका–९ का स्थानीयवासीले कृषियोग्य जमिन मासिने भन्दै विरोध जनाएका थिए ।

जग्गा एकीकरण गर्दा जग्गाधनीको करिब ४५ प्रतिशत जग्गा जाने भएकाले पनि कतिपय स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका थिए । तीनवटै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडा अध्यक्षलगायत सरोकार भएका समितिको सदस्यका रूपमा रहेको आयोजनाले जनाएको छ । आयोजनाको बीच भाग भएर बग्ने बागमती नदीको हाइड्रोलोजी अध्ययन पनि भइरहेको छ । दसैँअघिसम्म अध्ययन प्रतिवेदन पनि सार्वजनिक हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : २८ बजे