१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


अनधिकृत संरचना हटाउन कार्यकारिणी अधिकार प्रयोग गरिएको होः बालेन्द्र शाह(विज्ञप्तिसहित)



१२ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनी प्रक्रिया पूरा नगरीकन एक्कासि अनधिकृत संरचना भत्काउन थालेको भनी आलोचना गर्नेहरूलाई जवाफ दिएका छन्।
आइतबार बिहान विज्ञप्ति जारी गरी उनले महानगरपालिकाले कार्यकारिणी अधिकार प्रयोग गरेर अवैध संरचना हटाउने अभियान थालेको स्पष्टीकरण दिएका हुन्।

‘वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो’, विज्ञप्तिमा बालेन्द्रले भनेका छन्, ‘अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११९२० ले दिएको छ।’

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने उल्लेख गर्दै उनले थपेका छन्, ‘तसर्थ न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’

प्रेस विज्ञप्ति

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा  
कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ। आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृतिबिना निर्माण कार्य गर्न पाउँदैनन्। साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उपरान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कबुलियत गरेका हुन्छन्। महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ। 

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो। कानुनको अनुपालना गर्न पैंतीस दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको सर्वविदितै हो। 

स्मरण रहोस्, भुइँतला वा बेसमेन्टमा पार्किङ गर्ने गरी भवनको नक्सा स्वीकृति लिएका व्यक्ति वा संस्थाले सोबापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन्। तर कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कबुलियतनामाका सर्तहरू भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक छ।  

नेपालको संविधान र कानुनले काठमाडौं महानगरपालिकालाई कानुन बनाउने व्यवस्थापकीय अधिकार, कानुन कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको छ। वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो। अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको छ।  

कतिपयले अनधिकृत संरचना हटाउनुपूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नुभएको रहेछ। गैरकानुनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ। कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ।  

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन भन्ने हाम्रो दृढ मान्यता छ। कार्यकारिणीको अकर्मण्यताबाट सिर्जित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरू विकसित भएका हुन्। तसर्थ न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनुपर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। 

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ। अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौं। आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं। सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन्। अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा छौं।  
बालेन्द्र शाह 
प्रमुख, काठमाडौं महानगरपालिका  
मिति : २०७९।५।१२

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : २९ बजे