१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इन्द्रजात्रा अवलोकन गर्न चीन र अमेरिकाका १८ नगरपालिकालाई निम्तो



२२ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन् । उनले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताए ।

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए । उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताए ।

उनले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन,उत्साह र उमङ्ग,खुशीसँग जोडिएको बताए । मेयर साहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरुलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् । उनले इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै अतिथिहरु बिहीवारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन ।

उपप्रमुख डंगोलले इन्द्रजात्राको महत्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताइन । उनले इन्द्रजात्रालाई सभ्यभव्य र राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चार माध्यमको मुख्य भुमिका हुने दाबी गरिन ।

जात्रा अवलोकन गर्न दक्षिण एशियाली मुलुकका राजधानी शहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ । काठमाडौं उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ४९ बजे