२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बन्दीपुरमा बन्दैछ ‘मिनी ग्रेटवाल’



तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु । चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । तस्वीर : कृष्ण न्यौपानेरासस

४ असोज ०७९,बन्दीपुर । बन्दीपुर गाउँपालिका २ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो । कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको उनले बताए । नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ ।
उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ । दुईतिर वाल लगाउने र बीचमा आर्कषक सिँढी निर्माण गरी दायाँबायाँ आर्कषण बत्ती जडान गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ ।
काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।