५ कार्तिक ०७९,काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ ।
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तीहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ । गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ ।
सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन । सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन ।
अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँ भित्रका दृश्यहरु अव्यवस्थित छन् ।
सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् । मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन ।
सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी दृश्यहरु ।
प्रतिक्रिया