११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरभित्र १४ सय स्मार्ट लाइट थपिँदै



 

१९ मंसिर ०७९, ललितपुर। ललितपुर महानगरपालिकाभित्र १४ सय स्मार्ट सडकबत्ती (स्मार्ट लाइट) राख्न थालेको छ । कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिने भएको हो ।

महानगरका अनुसार यसअन्तर्गत चार सय बत्ती जडान भइसकेका छन् । बाँकी पनि चैत मसान्तभित्र जडान भइसक्नेछ । ‘दोस्रो चरणअन्तर्गतको काम सुरु भइसकेको छ । चार सय बत्ती जडानसमेत गरिसकेका छौँ । बाँकी ठाउँमा पनि काम भइरहेको छ,’ महानगरका जुनियर इलेक्ट्रिक इन्जिनियर सञ्जय खड्काले भने । सडकबत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग रहनेछ । उनका अनुसार पहिलो चरणअन्तर्गत बत्ती राखिएका ठाउँहरूबाट सकारात्मक प्रतिक्रिया आएपछि दोस्रो चरणको काम सुरु गरिएको हो ।

दोस्रो चरणअन्तर्गत बत्ती राखिने १५ वटा मुख्य चोकमा धेरै प्रकाश दिने ठूला बत्ती राखिनेछ । पुल्चोकस्थित महानगर कार्यालयअगाडि, जावलाखेल, लगनखेल, बुङमती बसपार्क, लगनखेलको आर्मी पेट्रोलपम्प, गणेशमान पार्कलगायतका चोकमा ठूला बत्ती राखिनेछ ।

महानगरले पहिलो चरणअन्तर्गतको ६ सय स्मार्ट सडकबत्ती जडान फागुन ०७७ मै गरिसकेको छ । यस चरणमा कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा सडकबत्ती राखिएको थियो । सवारी दुर्घटनाको प्रमुख कारण अँध्यारो सडक भएकाले सडकबत्ती राख्न थालिएको महानगरले जनाएको छ । पहिलो चरणअन्तर्गतको स्मार्ट सडकबत्ती जडानमा पनि महानगरको ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत सहयोग गरेको थियो । जसअन्तर्गत सात करोड रुपैयाँ लागेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : ४३ बजे