११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ



२३ मंसिर ०७९, काठमाडौं ।  खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन् । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उनले भने ।

उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताउए । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखे । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए । उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए । उनले खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिए ।

केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिए । उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए ।

मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाभित्र हाल नयाँ पाइपमार्फत पानी वितरण हुने बताए । उनले उपत्यकाभित्र कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको बताउँदै पुरानो पाइपलाइन केही महिनाभित्र मर्मत गर्ने जनाए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : २० बजे