११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


फर्पिङको भेटियो पुरातात्विक संरचना




११ पुस ०७९, काठमाडौं । पुरातत्व विभागले दक्षिणकाली नगरपालिकाको फर्पिङमा गरेको उत्खननमा पुरातात्विक महत्त्वका महत्त्वपूर्ण संरचना भेटिएको जनाइएको छ ।
विभागले केही समयअघि गरेको उत्खननमा भेटिएका ती सामग्रीका बारेमा परीक्षणसहित प्रतिवेदन तयार भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिएका छन् । पाइएका सांस्कृतिक महत्त्वको सामग्रीको परीक्षण र प्रतिवेदन तयारीपछि त्यसलाई सार्वजनिक गर्ने तयारी भएको छ ।
विभागले पशुपति क्षेत्रको विश्वरुप मन्दिरको फाउन्डेसनको पनि उत्खनन गरेको छ । भूकम्पले भत्किएको मन्दिर पुनःनिर्माण गर्नुअघि उत्खनन गरिएको हो । फाउन्डेसनको उत्खननपछि पुनःनिर्माण सुरु गरिएको जनाइएको छ । यसको विस्तृत प्रतिवेदन निर्माणको काम भइरहेको छ ।
यसैगरी विभागले कपिलवस्तु जिल्लाको तिलौराकोटलगायत तीन ठाउँमा पनि उत्खनन गरेको छ । ती उत्खननबाट पुरातात्विक महत्त्वका महत्त्वपूर्ण सामग्री पाइएको जनाइएको छ । कपिलवस्तुका १६ स्थानमा भने भूभौतिक सर्वेक्षण गरिएको पनि प्रवक्ता कुँवरले बताए ।

नवलपरासीको पण्डितपुरमा पनि विभागले भूभौतिक सर्वेक्षण गरेको छ । कपिलवस्तु र नवलपरासीमा गरिएको सर्वेक्षणको पनि प्रतिवेदन आउने क्रममा रहेको जनाइएको छ । कपिलवस्तुको उत्खनन र भूभौतिक सर्वेक्षणले बुद्धकालीन समयका थप संरचना भेटिएको विभागले सार्वजनिक गरेको सङ्क्षिप्त प्रतिवेदनमा उल्लेख छ ।
विभागले राम जन्मभूमि हो भनी दाबी गरिएको पर्सा जिल्लाको ठोरीलगायत क्षेत्रको भने अध्ययन गरेको जनाएको छ । पर्सासहित मधेस प्रदेशका पाँच जिल्लाको अध्ययन सकी प्रतिवेदन तयारीको काम भइरहेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गरी उत्खननमा अघि बढ्ने लक्ष्य राखेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १३ बजे