११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नवदुर्गा नाच घुमाइयो काठमाडौंको गोकर्ण देशे गाउँ




१३ पुस ०७९, काठमाडौं । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशे गाउँका विभिन्न टोलका साथै त्यहाँस्थित मठमन्दिर क्षेत्रमा प्रदर्शन गरिएको छ ।
स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा ३३ वर्ष स्रोत अभावमा बन्द रहेको थियो । यस वर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिएका छन् ।
नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा–साङ्ला–चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको थियो । गोकर्ण देशे गाउँको बस्ती नेपालका ऐतिहासिक राजा मानदेवले बसालेको विश्वास गरिन्छ । पैदल आउने क्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम रहेको जनाइएको छ ।
नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउन दिने गरेको छ । पशुपति क्षेत्रमा नाच देखाउन पनि यो मार्गबाट आउने गरेको जनाइएको छ ।
नाच देखाउने क्रममा नवदुर्गाका गण पौष शुक्ल तृतीया र चतुर्थी गरी दुई रात गोकर्ण देशे गाउँस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गरेका छन् । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा यो संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका किंवदन्तीसमेत प्रचलित छन् ।
नवदुर्गा नाच गोकर्णेश्वर क्षेत्रसँगै पशुपति क्षेत्रको जयवागेश्वरी, बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर नाच देखाउने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा गत मोक्षदा एकादशीका दिन देखाइएको थियो ।
जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म गोकर्ण देशे गाउँको नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्थासमेत मिलाइन्छ । विगतमा नवदुर्गा गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिकासमेत निभाउँदै आउनुभएका दयाराम वनमाला बताउछन् । गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ ।
यो नाचका क्रममा नवदुर्गालाई गोकर्णेश्वरको मूल मन्दिर परिसरमा समेत परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले बताए । यो जात्राका क्रममा तीन दिनसम्म गोकर्णेश्वर क्षेत्रमा नाचसहितको जात्रा हुन्छ । नवदुर्गा नाच सकेर आज नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्कने जनाइएको छ । नवदुर्गा गणलाई आज दिउँसो बिदाइ गर्ने कार्यक्रम रहेको वडाध्यक्ष महतले बताए ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ३६ बजे