११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकाका यात्रुमाथि दुर्व्यवहार,एक सय ४८ वटा उजुरी




काठमाडौं
६ माघ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यबवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताएका छन् ।
यात्रुका गुनासालाई सम्बोधन गर्न र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए। पुसमा गरिएको सचेतना कार्यक्रममा दुई हजार तीन सय २१ चालक तथा सहचालक सहभागी भएका र यो क्रम अहिले पनि जारी रहेको जनाइएको छ ।
प्रहरीले चालक तथा परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घमा पत्राचारसमेत गरेको छ । सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उक्त कार्यालयले सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको प्रवक्ता भट्टले जानकारी दिए ।
सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी उनले अनुरोध गर्दै आएका छन् । उक्त कार्यालयसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र यातायात व्यवसायी सङ्घसंस्थाका कार्यालयमा चालक तथा परिचालकका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।यसैबीच काठमाडौँको बबरमहलमा प्रदूषण परीक्षण गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने २७ सवारी साधन कारबाहीमा परेका पनि उनले जानकारी दिए । मापदण्डभन्दा बढी धुँवा फाल्ने भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा सवारी साधन कारबाहीमा परेका थिए ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : १९ बजे