३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय



काठमाडौं १३ माघ । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।

दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिबीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो ।

एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उनको भनाइ थियो ।

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धि प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेश गरेका थिए ।

पार्टी एकतासम्बन्धी प्रतिवेदनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।

त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल शुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताए ।

बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रश्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टिमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

बिहीबारबाट शुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक १६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।