११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका एक सय ३७ सहकारीले बचत फिर्ता नगरेको उजुरी




काठमाडौं
३ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् ।
ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको महानगरले जनाएको छ । मङ्सिर महिनामा उजुरी गर्नेको सङ्ख्यामा कमी आएको भए पनि पछिल्लो समय दैनिक एक सयसम्म उजुरी आउने गरेको कामपा सहकारी विभागले जानकारी दिएको छ ।
गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक सय ३७ ठगीको उजुरी परेको महानगर सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बचत थत ऋण सहकारीमाथि बचतकर्ताको रकम फिर्ता नगरेको ठगीका उजुरी छन् ।
उजुरी परेका एक सय ३७ मध्ये ५७ सहकारीलाई महानगरले पटकपटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले पुनःउजुरी आएपछि महानगरले प्रहरीको जिम्मा लगाएको छ । बाँकी ८० सहकारी सञ्चालकसँग महानगरले छलफल गरी बचतकर्ताको रकम असुलउपर गरिदिनका लागि प्रयास गरिरहेको छ । हाल कामपामा एक हजार नौ सय ५५ सहकारीमध्ये सबैभन्दा बढी करिब एक हजार छ सय बचत तथा ऋण सहकारी छन् ।

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भए पनि सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था छ । अत्यधिकरूपमा सहकारीको सङ्ख्या बढेको भन्दै विगत दुई वर्षदेखिनै महानगरले नयाँ सहकारी सञ्चालनका लागि अनुमति दिन छोडेको छ । आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि मिल्नेसम्मको हकमा एकापसमा गाभ्ने र बाँकी अन्यलाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ कामपाको जोड रहने पनि विभागको भनाइ छ ।
सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमा नै गाभ्न सकिने व्यवस्था रहेको छ । सहकारी गाभ्नका लागि समान प्रकृतिका दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले महानगरको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले प्रकृतिअनुरुप प्रक्रियाअघि बढाउने छ । सहकारी गाभ्न महानगरको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिनेछ ।
मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेका र उनीहरू माथि नै बढी समस्या रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो । दैनिकरूपमा अनियमितता गरेको गुनासो बढे पनि कामपाले अनुगमन गर्ने तयारी गरेको छ । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता गरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर अनुगमन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ४० बजे