ललितपुर खबर
ललितपुर । दक्षिण ललितपुरमा कफि खेती भित्राएर व्यावसायिक विस्तारमा महत्वपुर्ण योगदान दिएका कफीबाजेका रुपमा परिचित बद्रीप्रसाद चौरेलको दुःखद निधन भएको छ । उनका भतिज तथा महाकाल गाँउपालिका ५ का वडाध्यक्ष विनोद चौरेलका अनुसार उनी ब्रेन ट्युमरबाट पिडित भएपछि विरअस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उनलाई डिस्चार्ज गरेको १३ दिनमा उनको सोमबार साँझ निधन भएको चौरेलले ललितखबरलाई बताए ।
स्वर्गीय चौरलकी धर्मपत्नी खड्गकुमारी चौरेल समेत विरामी भई विर अस्पतालमै उपचाररत छिन् ।
सुदुर दक्षिण ललितपुरको ठुलादुर्लुङ्ग, गिम्दी, आश्राङ र चन्दनपुरलगायतका क्षेत्रमा कफी खेती सुरु गरेर कफी अन्तराष्ट्रिय बजारसम्म पु¥याउन योगदान दिएका चौरेलको सोमबार साँझ ७ बजे ठुलादुर्लुङ्गकै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । चौरेल दम रोगबाट समेत पिडित थिए ।
२०३८ सालमा ठूलादुर्लुङमा कफीको नर्सरी स्थापना गरी स्व.चौरेलले खेती विस्तार गरेका थिए ।
मकै र तोरी खेती हुने दक्षिण ललितपुरका डाँडापाखा नगदे बाली कफि खेतीले भरिएको छ । कफी खेती सुरु भएपछि दक्षिण ललितपुरका किसनाको आर्थिक स्तर फेरिएको छ ।
पछिल्लो समय गाँउ गाँउमा कफी प्रशोधन सुरु भएको छ । यहाँको कफीको माग नेपाललगायत विभिन्न देशमा उच्च छ । मंगलबार विहान उनको ठूलादुर्लुङमा दाहसंस्कार गरिदैछ ।
प्रतिक्रिया