९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘निफ’को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने



काठमाडौं, १ चैत ।  छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट शुरु हुँदै छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ ।

५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जानकारी दिएको छ । यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ । ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले महोत्सवको तयारीका लागि निफ टिम विगत तीन महिना यता लागिपरेको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षितरुपमा सफलता पाइरहेको बताए । उनले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरु सहभागी हुन र चलचित्र हेर्नका लागि दर्शकहरु पनि उपस्थित हुनुपर्ने बताए । उनले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनवद्धता गर्ने आशा राखेको बताए ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जना भन्दा बढी फिल्म मेकरहरु बाहिरि देशहरुबाट आउने बताए । उनले निफलाई विश्वास गरेर विगत झैँ यस पटक पनि राम्रा फिल्म र फिल्म मेकरहरुले मेलामा सहभागिता जनाउने वचनवद्धता दिएको बताए । उनले मेलाले फिल्मकर्मीहरुबीच छलफल र भेटघाटको अवसर मिल्ने बताए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : ४९ बजे