काठमाडौं
१ चैत । राष्ट्रिय सहकारी महासंघले सहकारीका ऋणी सदस्यहरुलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।
महासंघले एक अपिल जारी गर्दै केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका व्यवस्थापनमा कठिनाई हुने भएकाले ऋणीलाई समयमै किस्ता र व्याज तिर्न आग्रह गरेको हो ।
सहकारी संस्थाहरू उस्तै हुन् भन्ने बुझाइले सदस्यहरूबाट एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता भई संस्थामा गम्भीर असर पर्न जाने भएकोले सम्पूर्ण सदस्यहरूलाई संयमताका साथ नियमित कारोबार गर्न आह्वान गरेको छ ।
विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दीका कारण नेपालको अर्थतन्त्रमा पर्न गएको असर र त्यसले सिर्जना भएको प्रतिकूल परिस्थितिमा सहकारी अभियानप्रतिको विश्वासको संकट उत्पन्न भएको महासंघले जारी गरेको अपिलमा उल्लेख छ ।
महासंघद्वारा जारी अपिलमा भनिएको छ ‘सहकारी संघ÷संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरूलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइ दिन हुन अनुरोध छ’।
संस्था बचाउन र सदस्यहरूको बचत सुरक्षण गर्ने कार्य सदस्यहरूबाट नै हुने भएको भन्दै ऐन, नियमावली संस्थाको विनियम अनुसार समिति विघटन तथा चयन गर्ने अधिकार समेत सदस्यमा निहीत हुने भएकोले संस्थामा आफ्नो सदस्यताको जिम्मेवारी सक्रियताका साथ निर्वाह महासंघले अपिले गरेको छ ।
संघ÷संस्थाहरूले अन्य सहज परिस्थिति भन्दा बढी सदस्यसँग सम्पर्क समन्वय गरी विश्वासको वातावरण सिर्जना गर्दै संस्था नियमित रूपमा संचालन गर्ने महासंघले आह्वान गरेको हो । यस्तै संस्थाका सदस्यहरूले निराधार हल्लाकापछि लागि सञ्चालक एवं कर्मचारीहरूमाथि दुर्व्यवहार, हुलदंगा नगरी सामान्य परिस्थितिमा झैं संस्था सहज रूपमा सञ्चालन हुने वातावरण बनाइ हालको प्रतिकूल अवस्थामा बचतकर्ताहरूले धैर्य गर्नुपर्ने महासंघले जनाएको छ ।
प्रतिक्रिया