काठमाडौं, १० चैत । पछिल्लो १० वर्षमा काठमाडौं उपत्यकाका जनसंख्या वृद्धिदर उच्च देखिएको छ । सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ । २०६८ मा ६० हजार २३७ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख ३० हजार ४३३ पुगेको छ । यहाँको वार्षिक जनसंख्या वृद्धिदर ७.४१ प्रतिशत छ ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको जनसंख्या पनि करिब दोब्बर बढेको छ । २०६८ मा ६२ हजार १७२ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख २३ हजार ११६ पुगेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा २०६८ मा ८१ हजार ४४३ जनसंख्या रहेकामा २०७८ मा १ लाख ५१ हजार ४७९ पुगेको छ । काठमाडौंको नागार्जुन नगरपालिकामा २०६८ मा ६७ हजार ४२० रहेको जनसंख्या बढेर २०७८ मा १ लाख १५ हजार ४३७ पुगेको छ ।
प्रतिक्रिया