९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रमा करिअर बनाउदै रङ्ग पत्रकार



१० चैत्र । पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ ।
पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचाँै चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गरेका छन् । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको कलाकारले अभिनय गर्दै छन् ।

“कार्यशाला गरेर छायाङ्कनमा निस्किएकाले निर्धारित समयमै सम्पन्न गर्छौँ भन्ने आश छ । आउँदो वर्ष प्रदर्शन गर्ने लक्ष्य छ”, निर्देशक लामाले भने । उनी पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त छन् । रङ्ग पत्रकार हुँदै चलचित्रकर्मी बनेका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद २’ यही चैत २४ मा प्रदर्शन हुँदैछ ।

“प्रसादपश्चात् यसको दोस्रो शृङ्खला लेखेको हुँ । समय मिल्दा र कार्यशैली मिल्ने टिम हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भन्नुभयो । उहाँ पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ । लेखक पौडेल झैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामिप्यराज तिमल्सेना अझै केही समय निर्देशनमा आउने सोचमा नरहेको बताए । “अफर त आइरहेको हुन्छ । तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भने, “अहिलेको समय हामीले सिक्ने हो । चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”
रङ्ग पत्रकार डब्बु क्षेत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त छन् । अहिले फिल्म निर्देशन गर्ने उनको सोच छैन । ‘फिटकिरी’ बाट लेखन सुरू गरेका पत्रकार यज्ञश निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको कथा लेखिरहेका छन् । यस्तै अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसकेका पत्रकार सुव्रत आचार्य ‘टिभी शो’को तयारी गरिरहेका छन् । चलचित्र निर्देशन केही समय थाती राख्दै उनको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ ।

‘एउटा साथी’ निर्देशन गरेर निर्माणमा समेत सक्रिय लक्ष्मण सुवेदी ‘सतीदेवी’ को तयारीमा छन् । यसमा उनले शीर्ष भूमिकामा मलिका महतलाई अनुबन्धित गरेका छन् । कार्यशाला भइरहेको चलचित्रको छायाङ्कन छिटै हुने उनले बताएका छन् ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ३ : २९ बजे