काठमाडौं, ११ चैत । दैनिक उपभोग्य बस्तुको बजार अनुगमनलाई महानगरले नियमित गरेको छ । स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । यो समिति उपप्रमुखको अध्यक्षता हुन्छ । अनुगमनको नेतृत्व निरीक्षण अधिकृतले गर्ने व्यवस्था छ ।
आज कालीमाटी तरकारी बजारको अनुगमन भएको छ । खरिद र विक्री बिल देखाउन नसक्नु, महानगरको दर्ता र नविकरण नहुनु, तौलका सामग्री तथा उपकरणको नविकरण देखाउन नसक्नु जस्ता समस्या छन् । यस्ता कारण अनुगमन टोली बजारमा पुगेपछि थोक व्यापारी व्यापार छोडेर लाखापाखा लाग्ने गरेका छन् । यो अवस्था विगतदेखि नै छ । आजको अनुगमनमा पनि यही क्रम दोहोरियो ।
बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीब्र बनाएको हो ।
अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ । यसलाई व्यवस्थित गर्न महानगरले ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक — २०७७’ जारी गरिसकेको छ । यसलाई सामयिक परिमार्जन गर्दै २०७९ सालमा संशोधन गरिएको छ ।
उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको हो । निरीक्षण अधिकृत एवं प्रशासन महाशाखा प्रमुख सरिता राई भन्छन्, ‘बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, शिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ।’
अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् ।
दैनिक औसतमा ५ सय मेट्रिक टन तरकारी तथा फलफुल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।
प्रतिक्रिया