२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख सहयोग



ललितपुर, २० चैत । रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । रोटरीले १९९० सालको भुइँचालोले भग्नावशेष बनाएको पाटन दरबार क्षेत्रको भाइदेग मन्दिर पुनःनिर्माणका लागि सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरेर सङ्कलन गरेको रकमको चेक उपलब्ध गराएको हो ।

क्लबले गत फागुन ६ गते शिवरात्रिका दिन मङ्गलबजारदेखि कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म सम्पदा यात्रा गरेर उक्त रकम जुटाएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारको सार्वजनिक खरिद ऐनका कारण सम्पदा निर्माण तथा पुनःनिर्माणमा गुणस्तरीय काम हुन नसक्ने बताए ।

“सार्वजनिक देवालय, शिवालय तथा मठमन्दिर निर्माणका लागि बोलपत्र आह्वान गर्दा गुणस्तरीय काम हुन सक्दैन, कम गुणस्तरको हुन्छ, त्यसकारण संस्कृति र सम्पदा मासिन पुग्छ, सम्पदा बचाउन र देवालय, शिवालय तथा मठमन्दिरको गुणस्तरीयता कायम गर्न उपभोक्ता समितिमार्फत स्थानीय कलाकार र कालिगढबाट गरिनुपर्छ”, उनले भने ।

उनले महानगरले भाइदेग मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु एक करोड २३ लाख दिइसकेको जनाउँदै यस वर्षका लागि रु ५० लाख छुट्याइएको जानकारी गराए ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सम्पदा जोगाउन सबै एकजुट हुनुपर्ने बताए । उनले भाइदेग मन्दिर पुनःनिर्माणमा गुणस्तरीय काम हुनेमा विश्वास व्यक्त गरे ।

रोटरी डिस्ट्रिक गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले सम्पदा क्षेत्रको निर्माणमा बोलपत्र आह्वान गरिन नहुनेमा जोड दिँदै सम्पदा प्रेमी मिलेर संरक्षणका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।
उनले रोटरीले गर्ने विभिन्न सामाजिक काम जस्तै सम्पदा यात्रा गरेर ८९ वर्ष अघि भत्किएर लोप भइसकेको मन्दिर पुनःनिर्माणका लागि रकम उपलब्ध गराउनु पनि महत्वपूर्ण काम भएको बताए।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।