१४ माघ २०८१, सोमबार | Tue Jan 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव सभा



भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा सोमबारबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन भक्तपुरको टौमढीमा आज सद्भाव सभाको आयोजना गरिएको छ ।

सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव माननीय प्रेम सुवालले जात्रा, पर्व, कला र संस्कृति मानव समाजको विकास सिलसिला हो र हाम्रा पुर्खाले सुरु गरेको योत्रा विकृतिरहित ढङ्गले शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य भएको बताए । उनले देश विदेशमा भएका नेपाली तथा विदेशीहरूले समेत फेसबुक लाइभ तथा अन्य सञ्चारमाध्यमबाट जात्रा अवलोकन गरिने हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित गर्नेतर्फ स्थानीय तह तथा जात्रासँग सम्बन्धित सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपालको अर्थतन्त्र ओरालो लाग्ने क्रममा रहेको समयमा जात्रा र पर्वहरू मनाउँदा धेरै खर्चिलो र भड्किलो नबनाई मितव्ययिता अपनाउनुपर्ने भन्दै उहाँले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले आवश्यक पहल गर्नुपर्ने बताए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सबैमा अपिल गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ११ : २० बजे