११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बिस्केट जात्रामा हजारौँको भीड, आठ सय सुरक्षाकर्मी तैनाथ



२७ चैत्र । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । प्यागोडा शैलीमा काठैकाठले निर्माण भएको तीनतले भैरवको रथ स्थानीयवासीले आज अपराह्न ४ बजेदेखि तौमढी (पाँचतले मन्दिर प्राङ्गण) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।

आज राति ८ बजेसम्ममा तौमढीबाट माथिल्लोतर्फ सुकुलढोका, गोल्मढी हुँदै इनाचो पु¥याइएको छ । हजारौँका सहभागिता रहेको जात्रामा भैरवको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढीभन्दा तलका बासिन्दाले पनि रथलाई तौमढीतर्फ ल्याउन तानिरहेका छन् ।

रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामा भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चारवटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतीकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाँधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।

आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयवासीले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।

आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिएका छन् । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरवको रथ तान्न सुरु गरिएको उनले बताए ।

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पु¥याएको छ ।

आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानी सकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताइन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए । जात्रामा सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको बताए ।

जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत आउने बताए । उनले ६ सय ४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोसाकमा सुरक्षाकर्मी जात्राका लागि खटाएको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ६ : २३ बजे