७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीको सार्वजनिक सुनुवाईमा मेयर गजेन्द्र र उपमेयर मुनाको तिब्र आलोचना




ललितखबर
२९ चैत्र । गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाईमा मेयर जगेन्द्र महर्जन र उपमेयर मुना अधिकारीको तीब्र आलोचना भएको छ ।
नगरपालिका परिसरमा मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले नगरपालिकाको काम कारवाहीलाई लिएर सयौं प्रश्न उठाएका हुन् ।
सहभागीले नगरका सडक अझैं हिलाम्मे र धुलाम्मे रहेको, नगरपालिकाको १४ वटै वडामा सार्वजनिक जग्गा मिच्दा पनि नगरपालिकाले संरक्षण नगरेको, अबैध खानी सञ्चालनका लागि अनुमती दिएको,खोला मिचेर ह्युम पाइप राखिएको,स्थानीय सञ्चारमाध्यमहरुको प्रबद्र्धनको कुनै कार्यक्रम नल्याएको,सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै कर्मचारी मात्रै राखेर गरिएको र स्थानीयको सहभागिता नगराएको, किसानलाई मल उपलव्ध नगराएकोजस्ता प्रश्न उठाएका छन् ।
सुनुवाईमा नगरपालिकाभित्र सयौं खेती योग्य जग्गा प्लटिङ गरिएको नख्खु करिडोरबाट टिपर गुड्ने सडक बनाएको भए पनि बस्तीभित्रका साधुरा सडकमा टिपर गुढ्दा पनि नियन्त्रण नगरिएको भन्दै सहभागीले तिब्र असन्तुष्टि जनाएका थिए ।


प्रश्नको जवाफ दिने क्रममा मेयर गजेन्द्र महर्जनल अनाधिकृत र गैरकानूनी प्लटिङ रोक्ने पहल गरेको जवाफ नदिई धेरै मान्छे गोदावरीलाई माया गरेर बसाई सर्न खोजेको भन्दै बचाउ गरे । गोदावरी नगरपालिकाका पाखा भित्ता फोरेर जोखिमयुक्त स्थानमा घर निर्माणका लागि जग्गा किनबेच हुँदा पनि नगरपालिकाले २० रोपनीसम्मको जग्गा सम्याउन अनुमती दिन पाउने तर्क गरेका छन् ।
यद्यपी जनस्तरबाट एककृत रुपमा जग्गा खण्डिकरण गर्नु कानून विपरित हो । जग्गाको बस्ती विस्तार गर्नु परेमा नेपाल सरकारले बस्ती विस्तार आयोजना सञ्चालन गर्ने व्यवस्था छ ।
उपमेयर मुना अधिकारीले अबैध र गैरकानूनी जग्गा प्लटिङको कुनै अनुगमन र कारवाही नगरेको बताइन् । उनले भनिन्,‘मालपोतबाट हामीले सिफरिस नदिए पनि मालपोत कार्यालय ललितपुरबाट कित्ताकाट भएर काम अघि बढ्छ । हाम्रो कर मात्रै गुम्ने अवस्था आएकोले हामीले जग्गा सम्याउन स्वीकृती दिएका हौं ।’
मेयर महर्जनले सडकहरु विस्तारै मर्मत गर्ने, सार्वजनिक जग्गा संरक्षणका लागि पहल भइरहेको, नेपाल सरकारले नै खानी तथा क्रसर खोलेको, मल दिने काम नेपाल सरकारको भएको जवाफ फर्काएका छन् । उनले सिमित साधन र श्रोतका कारण काम गर्न अप्ठ्यारो भएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : २१ बजे