१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


जोगिन्दरले नयाँ टेलिभिजन शो ‘मुखियाजी’ बनाउने



महोत्सवमा त्यो छोटो चलचित्र प्रथम भयो । मेरो भूमिका रुचाइयो । त्यसपछि मैले त्यही चरित्रलाई टेलिभिजन शो र महोत्सवमा प्रयोग गरेँ

३० चैत्र । टेलिभिजनमार्फत ‘जोगिन्दर’को उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजालले नयाँ नाम ‘मुखियाजी’ पाएका छन् । विशेषतः तराईमा अध्यक्षलाई मुखिया भन्ने गरिन्छ । जोगिन्दर र पानवाला भनेर चिनिएका हास्य कलाकार रिजालले मुखियाको नाममा नयाँ टेलिभिजन शो बनाउनु भएपछि दर्शकबाट नयाँ उपनाम पाएको बताएका छन् ।

“महोत्सवमा सहभागी हुँदा जोगिन्दर भनेर सम्बोधन गर्नुहुन्छ । विशेषतः तराईमा जाँदा मुखियाजी भन्नुहुन्छ । यी नामले सम्बोधित हुँदा खुसी लाग्छ । किनकी यी पात्रलाई बनाउन निकै मेहनत लागेको छ”, रिजालले भने ।

जोगिन्दरको उपनाम उनले छोटो चलचित्रमार्फत पाएका हुन् । निर्देशक आशिफ शाहले निर्देशन गरेको एक छोटो चलचित्रमा उनले पान पसलेको भूमिका निर्वाह गरेका थिए । “महोत्सवमा त्यो छोटो चलचित्र प्रथम भयो । मेरो भूमिका रुचाइयो । त्यसपछि मैले त्यही चरित्रलाई टेलिभिजन शो र महोत्सवमा प्रयोग गरेँ”, उनले भने ।

सर्लाहीका बासिन्दा हास्य कलाकार रिजालले तराईकै पात्रलाई आफूमार्फत प्रस्तुत गर्ने गर्छन् । उनले भने, “मैले गर्ने प्रहसनले मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । जे जस्तो चरित्रलाई हेर्दै हुर्किएँ त्यसलाई नै प्रस्तुत गर्ने गरेको छु ।”

तराईमा मुखियाको आफ्नो छुट्टै मानसम्मान हुन्छ । “पात्रलाई टेलिभिजनसँगै बाहिर पनि प्रयोग गरिरहेको छु । यद्यपि जोगिन्दरलाई पनि छाडेको छैन ।” जोगिन्दरको चरित्रलाई जीवित राख्दै मुखियाजीमार्फत कला यात्रालाई अगाडि बढाउने योजनामा रहेका हास्य कलाकार रिजालले विज्ञापन, म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : १४ बजे