१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिस्केट जात्रा: मध्यपुरथिमिमा चार दिन बिदा



भक्तपुर, ३० चैत । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरुपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरुपमा बिस्केट जात्रा मनाइन्छ । स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो । यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरुपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ । ‘स्थानीय तहले बिदा नदिँदा यहाँका बासिन्दाले चाड राम्रोसँग मनाउन पाएका थिएनन्, त्यसैले यस वर्षदेखि चार दिन बिदा दिने निर्णय गरेका हौँ’, उनले भने ।

विस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडकारुपमा मनाउने गर्दछन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र जात्रामा नातेदार, आफन्तलाई भोज खुवाएर नौ दिन आठ रातसम्म भव्यरुपमा मनाउने गरिन्छ ।

बिहान भक्तपुर र थिमिमा हात नभएकोे लिङ्गो उठाइयो

बिहीबार मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन् ।

तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरुपमा शुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज शुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । ‘महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि शुरु भएको मानिन्छ’, उनले भने ।

यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्‍याइन्छ भने राति करिब नौ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि जिब्रो छेड्ने २७ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ । आज व्रत शुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने परम्परा छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरुपमा मनाउने गरेका छन् ।

त्यसैगरी प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरी उठाइएको छ । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।

कुमालेटोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेकोे तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ । यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : ५० बजे