८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


पोखराको फेवातालमा डुङ्गा दौडको उपादी तालपारिको समूहलाई



 

३० चैत्र । पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ ।

प्रतियोगितामा बाराही घाट ‘ए’ समूह द्वितीय भएको छ भने बाराही घाट ‘डी’ ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः रु १५ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारस्वरुप रु पाँच हजार प्रदान गरियो । पाँचौँ स्थान हासिल गर्ने समूहलाई जङ्गल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो ।

होटल सङ्घ नेपालद्वारा आयोजित उक्त दौड प्रतियोगितामा सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेतालाई पुरस्कार प्रदान गरेका छन् । सहभागीहरु पहारीघाटबाट डुङ्गा खियाएर ताल पारि रहेको लेकहाउमा पुगेर पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीनजना सहभागी रहेका थिए ।

नयाँ वर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्देश्यले तालमा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए । पञ्चेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बताए । प्रतियोगिताका लागि सङ्गठनले निःशुल्क डुङ्गा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  २ : ०४ बजे