१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दयाहाङ सर्वश्रेष्ठ अभिनेता



३० चैत । अभिनेता दयाहाङ राई सर्वश्रेष्ठ अभिनेताको अवार्डबाट सम्मानित भएका छन् । बक्सअफिस इन्टरनेशनल ग्रुपले आयोजना गरेको ब्लकबस्टर नेपाली फिल्म अवार्ड (वर्ष समीक्षा) २०७९ मा झण्डै तीन दर्जन चलचित्रलाई उछिन्दै ‘कबड्डी ४’बाट अभिनेता राईले सर्वश्रेष्ठ अभिनेताको अवार्ड पाएका हुन् ।

यस्तै सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड केकी अधिकारीले पाइन् । उनले चलचित्र ‘झिंगेदाउ’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड पाएकी हुन् । सर्वश्रेष्ठ निर्देशकको अवार्ड ‘कबड्डी ४’बाट निर्देशक रामबाबु गुरुङले पाए । उनले निर्देशन गरेको चलचित्र ‘कबड्डी ४’ अन्य चलचित्रलाई पन्छाउँदै २०७९ मा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र भएका कारण यो वर्षको ब्लकबस्टर चलचित्र घोषित भयो ।

यस्तै २०७९ सालको वर्ष अभिनेतामा केदार घिमिरे ‘छक्का पञ्जा ४’बाट सम्मानित भए । वर्ष अभिनेत्रीमा आँचल शर्मा ‘झिंगेदाउ’बाट सम्मानित भइन् । निर्देशक ज्ञानेन्द्र देउजाले झण्डै ४८ वटा चलचित्रलाई उछिनेर ‘झिंगेदाउ’बाट वर्ष निर्देशकको अवार्ड उचाले ।

वर्ष निर्मातामा विदेशमासमेत नेपाली चलचित्रको बजारीकरण गरेका कारण निर्माता सन्तोष सेन सम्मानित भए । उनको चलचित्र ‘प्रेम गीत ३’ भारतलगायत अन्य देशमा पनि प्रदर्शन भएको थियो । सक्रिय युवा निर्मातामा चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपाली सम्मानित भए ।

उत्कृष्ट नवनिर्देशकको रुपमा कपिल रिजाल ‘ह्यारिकी प्यारी’बाट सम्मानित भए । वर्ष वितरकमा उपत्यकाबाट गोविन्द शाही (‘प्रेमगित ३’, ‘कबड्डी ४’)ले अवार्ड उचाले भने मोफसलबाट उज्वल पौडेल र मनोज राठीको कम्पनीले ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’को उत्कृष्ट हल व्यवस्थापन गरेकाले सम्मानित भए ।

त्यस्तै नवनिर्माता विधामा मनिष ढकाल चलचित्र ‘फूलबारी’बाट सम्मानित भए । वर्ष नवअभिनेतामा कुशल विष्ट ‘झिंगेदाउ’बाट सम्मानित भए भने नवअभिनेत्रीमा कृष्टिना गुरुङ ‘प्रेमगीत ३’बाट सम्मानित भइन् ।

वर्ष सिनेमाहलको अवार्ड राजधानीको बिग सिनेमाले पायो । अवार्ड उचाल्न्न सिनेमाहलका म्यानेजर दिपेश शर्मा कार्यक्रममा उपस्थित भएका थिए र वर्ष स्टुडियोमा विश्व गौचनको अस्लेसा स्टुडियोले अवार्ड उचाल्यो ।

२०७९ मा वर्ष डिजिटल कारोबार कम्पनीमा ओम अग्रवाल ओएसआर डिजिटल कम्पनीबाट सम्मानित भए ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला त्रीपाली ठकुरीले अवार्ड हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्काले २०७९ सालमा रिलिज भएर आएका विभिन्न चलचित्रको वर्ष समीक्षा गरेका थिए  ।

कार्यक्रममा अग्रज सुवेदी पत्रकारिता सम्मान यो वर्ष राष्ट्रवाणीको प्रधान सम्पादक तथा  वरिष्ठ पत्रकार हरि लम्साल छापाबाट, नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौत र एक मात्रै नेपालको पोहिलो हास्य रेडियो रेडियो अडियोका संस्थापक अध्यक्ष दिपेन्द्र खनिया सम्मानित भए ।

कार्यक्रमना चलचित्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वलाई वरिष्ठ नोट दिजाइनर सुन्दर श्रेष्ठ, वरिष्ठ निर्देशक दयाराम दाहाल, निर्माता तथा महिला उद्यमी शर्मिला पाण्डे, साधना कला केन्द्रका संस्थापक मिलन मोक्तान, वरिष्ठ कलाकार आर के मानन्धर, वरिष्ठ गीतकार मीन सागर लामालगायतको हातबाट सम्मान गरिएको थियो ।

नयाँ वर्षको स्वागत र पुरानो वर्षको बिदाइ गर्दै हरेक वर्ष चैत २८ र २९ गते नियमितरुपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड यो वर्ष भने औपचारिक वर्ष समीक्षा कार्यक्रम मात्रै रहेको र अवार्डको पूर्ण आकार भने आगामी भदौमा आयोजना हुने नेसनल बक्स अफिस फिल्म फियर अवार्डमा आउने अवार्ड अध्यक्ष आरके सुबेदीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  २ : ४६ बजे