रथ निर्माण क्रममा रकमी (रथ निर्माण गर्ने स्थानीय) श्रमिकहरुलाई दिने पारिश्रमिक नियमित रुपमा आउँछ । त्यो छुट्टै हो
ललितखबर
३ बैशाख । विश्वकै लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्राका लागि ७० लाख बजेट छुट्याइएको छ । गुठी सस्थानको व्यवस्थापनमा हरेक वर्षको बैशाख महिनाबाट लगभग १ महिनासम्म चल्ने यो जात्राका लागि गत बर्ष करिव ६८ लाख खर्च भएको गुठी संस्थान ललितपुरकी प्रमुख लक्षुना शर्मा काफ्लेले ललितखबरलाई बताइन् ।
उनका अनुसार रथ निर्माणका क्रममा थप काठहरु आवश्यक परेको खण्डमा बजेट बढ्न सक्ने बताइन् । उनले भनिन्, ‘रथ निर्माण क्रममा रकमी (रथ निर्माण गर्ने स्थानीय) श्रमिकहरुलाई दिने पारिश्रमिक नियमित रुपमा आउँछ । त्यो छुट्टै हो । रथ निर्माणका क्रममा काठ भाचिए नयाँ प्रयोग गर्ने गरिएको छ ।’
रथ निर्माणको क्रममा काठको काम विराही समुदाय र बेतको काम महर्जनहरुले गर्दछन् । गुठी संस्थान ललितपुरका इञ्जिनियर शलिकराम सुवेदीका अनुसार मच्छिन्द्रनाथको रथ निर्माणका काम ६ महिना अघिदेखि सुरु हुन्छ । रथका लागि काठ काट्न जाने ल्याउने ताछ्ने र मिलाउने सम्मका प्रकृया हुने गर्दछ ।
रथका लागि आवश्यक काठहरु फुल्चोकीबाट ल्याइन्छ । बिश्वका लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा साइत अनुसार भोटो देखाइन्छ ।
पुल्चोकबाट महापाल, मंगलबजार, सुन्धारा हुँदै लगनखेल पु¥याई नरिवल फ्याक्ने गरिन्छ । साइतपछि लगनखेलबाट जावलाखेल पु¥याएको ४ दिनपछि राष्ट्रप्रमुखलगायतको उपस्थितीमा भोटो देखाइन्छ ।
भोटो देखाएलगत्तै रथमा विराजमान गराइएको मूर्ति बुङ्गमतीस्थित मन्दिरमा लगेर राखिन्छ । मन्छिन्द्रनाथको मूर्ति छ । ६ महिना बुङ्गमतीस्थित मन्दिर र ६ महिना मंगलबजारस्थित मन्दिरमा राख्ने प्रचलन छ ।
मच्छिन्द्रनाथको जात्राका क्रममा हरेक क्रियाकलाय साइत अनुसार मात्रै हुने इञ्जिनियर सुवेदी बताउछन् ।
बेत ठेक्का प्रकृयाबाट भारतको आसामबाट ल्याइन्छ । नेपालमा बेतको खेती गर्न प्रतिबन्ध लगाएको कारण भारतबाट ल्याउनु पर्ने बाध्यता छ । आवश्यक काठ भने फुल्चोकी र दलचोकीलगायत बनबाट पाटनका नेवार समुदायले ल्याउने गर्दछन् ।
राजा नरेन्द्रदेवको पालाबाट सुरु भएको मच्छिन्द्रनाथको जात्रा १६ सय बर्षदेखि निरन्तर हरेक वर्ष चलिरहेको छ । रातो मच्छिन्द्रनाथको रथारोहण बैशाख ८ गते शुक्रबार हुँदैछ भने बैशाख ११ गते सोमबारदेखि रथ तान्न सुरु हुने हुन्छ ।
प्रतिक्रिया