नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका २ घर भई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो
भक्तपुर, ३ वैशाख । कौशल्टार सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिँदा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका २ बालकोट रागिनी हाइटस्थित भित्री बस्तीमा नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका २ घर भई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो ।
माटोको ढिस्कोले पुरिँदा सुनसरी गढी गाउँपालिका २ घर भई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
घटनापछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेतको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो । उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताए ।
प्रतिक्रिया